विज्ञ भन्छन्- कोरोना बढेको बढ्यै छ, मास्क लगाऔं



पछिल्लो दुई सातायता कोरोना संक्रमण दर तीन गुणा बढेको छ। स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो दुई सातामा ४३ हजार ४३९ जनाको परीक्षण गरिएकोमा १६५५ जनामा संक्रमण पुष्टि भएको छ।

यो भनेको ३.८ प्रतिशत संक्रमण दर हो। जबकि त्यसअघि संक्रमण दर जम्मा १.१७ प्रतिशत थियो। असार १ देखि १५ गतेसम्म कुल ४१ हजार २२४ जनाको परीक्षण गर्दा जम्मा ४३५ जनामा संक्रमण देखिएको थियो। तर अहिले दैनिक संक्रमितको संख्या तीन गुणा बढेको छ।

पछिल्लो साता संक्रमण बढ्नुको मुख्य कारण ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति रहेको विज्ञहरू बताउँछन्।

सरूवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले यो नयाँ उपप्रजाति अहिलेसम्मकै संक्रामक रहेको बताएका छन्। यो उपप्रजातिलाई बिए फाइभु नाम दिइएको छ।

नेपालमा पनि अहिले बिए फाइभु सक्रिय रहेको उल्लेख गर्दै डाक्टर पुनले आगामी दिनमा थप संक्रमण बढ्ने बताए।

तथ्यांकले पनि यो उपप्रजाति बढी संक्रामक रहेको पुष्टि हुन्छ। पछिल्लो एक सातायता दिनप्रतिदिन संक्रमण बढिरहेको छ।

गत असार २४ गते ९८ जनामा संक्रमण देखिएकोमा हिजो (बिहीबार) २६० जनामा संक्रमण देखिएको थियो। संक्रमितको संख्या थप बढ्दै जाने डाक्टर पुन बताउँछन्।

अर्को भनेको यो उपप्रजातिले खोप लगाएका व्यक्तिलाई पनि संक्रमण गर्नसक्ने हुँदा थप सर्तक हुनुपर्ने पुनको सुझाव छ।

‘खोप लगाएकाहरूमा हुने एन्टिबडीलाई पनि यो उपप्रजातिले छल्नसक्छ भनिएको छ। मलाई नै फोन गर्नुहुने कति जनाले खोप लगाएको बताउनुभएको छ। त्यसैले सतर्कता अपनाउन जरूरी छ,’ उनले भने।

अर्को सरूवा रोग विशेषज्ञ डाक्टर अनुप बाँस्तोला पनि पछिल्लो समय मानिसहरूले मास्क लगाउने लगायत जनस्वास्थ्यको मापदण्ड पालना नगर्दा संक्रमणको जोखिम बढेको बताउँछन्।

‘हामीले लगभग मास्क लगाउनेदेखि भौतिक दूरी कायम गर्नेलगायत मापदण्ड पालना गर्न छोडिसक्यौं। जसको कारणले संक्रमण बढिरहेको छ,’ उनले भने।

डाक्टर पुनले पनि पछिल्लो समय मानिसहरूले मास्क लगाउने बानीलाई छोडेको बताउँदै सो बानीलाई निरन्तरता दिनुपर्ने जनाए।

अहिले फैलिरहेको नयाँ उपप्रजातिले खोप लगाएकालाई पनि संक्रमण गर्नसक्ने उल्लेख गर्दै पुनले अनिवार्य मास्क लगाउन सुझाएका छन्।

‘मैले खोप लगाएको छु तर पनि म त संक्रमित हुनसक्छु नि। जसले गर्दा अरूलाई संक्रमण सार्न सक्छु। त्यसैले मास्क चाहिँ लगाउनै पर्छ,’ उनले भने।

तर बिए फाइभु उपप्रजाति बढी संक्रामक रहे पनि पहिलेकोजस्तो घातक नरहेको डाक्टर पुन बताउँछन्।

उनले आगामी दिनमा संक्रमितको संख्या बढे पनि अस्पताल भर्ना हुने र मृत्यु हुनेको संख्या अघिल्लो लहरहरूको जस्तो नहुने बताए।

‘अबको दिनमा संक्रमणको बिन्दु उकालो लाग्नसक्छ। तर अघिल्लो डेल्टा भेरियन्टको जस्तो जति संक्रमण बढ्यो उति नै बिरामी अस्पताल भर्ना हुने स्थिति आउँदैन,’ पुनले भने।

अर्को भनेको अहिले बुस्टर डोज लगाउने मानिसहरू कम हुँदा त्यसले पनि संक्रमणको जोखिम बढ्ने पुन बताउँछन्।

मन्त्रालयको तथ्यांक अनुसार असार २९ गतेसम्म जम्मा ६७ लाख ५४ हजार जनाले बुस्टर डोज लगाएका छन्।

हुन पनि पछिल्लो समय संक्रमण कम भएसँगै मानिसहरूले बुस्टर डोज लगाउन चासो देखाएको देखिँदैन।

अधिकांश मानिसहरूले पहिलो र पूर्ण मात्रा खोप लगाएका कारण त्यहीँ खोपले काम गर्ने भन्दै अहिले ती मानिसहरू बुस्टर डोज लगाउन गएका छैनन्। तर डाक्टर पुनले बुस्टर डोजले संक्रमण भइहाले त्यसबाट हुने जटिलतालाई रोक्ने वा कम गर्ने हुँदा सबैले बुस्टर डोज लगाउनुपर्ने जनाए।

‘नेपालमा ७० प्रतिशतभन्दा बढी मानिसले खोप लगाइसकेका छन्। तर खोप लगाएको समय धेरै भएकाले ती मानिसहरूमा पनि संक्रमणको जोखिम हुन्छ,’ पुन भन्छन्, ‘त्यसमाथि यो संक्रमण कुनै बिन्दुमा गएर टुंगिएला जस्तो छैन। यसले काचुली फेरेको फेरै छ। त्यसैले बुस्टर डोज लगाइयो भने आगामी दिनमा संक्रमण भइहाले पनि त्यसबाट हुने जटिलतालाई यसले रोक्द मद्दत गर्छ।’

 

 

सम्बन्धित समाचार