पूजा र आकाशको ‘सम्झना बिर्सना’लाई हलमा टिक्नै मुस्किल



काठमाडौं । पूजा शर्मा र आकाश श्रेष्ठलाई लिएर सामाजिक सञ्जालमा जति चर्चा हुन्छ, त्यो चर्चा बक्स अफिसमा देखिएन । यी दुई अभिनित पछिल्लो फिल्म ‘सम्झना बिर्सना’ले घरेलु बक्स अफिसमा निकै कमजोर ओपनिङ गरेको छ ।

मुलुकका १०० हलबाट शुक्रबार रिलिज भएको फिल्मको दुई दिनको कुल कमाइ निकै न्यून छ । शनिबार अष्टनारायणसहितका केही हलमा अकुपेन्सी ७० प्रतिशत देखिए पनि क्यूएफएक्समा ३० देखि ५० प्रतिशतसम्म रह्यो ।

आइतबार ठूला मल्टिप्लेक्सले फिल्मको शोमा कटौती गरेका छन् । क्यूएफएक्सले आइतबार चार शो दिएको छ । फिल्मभन्दा बाहिर यी दुई कलाकारलाई निकै हल्ला हुने गरे पनि बक्स अफिसमा भने त्यसको प्रभाव देखिएन ।

दुई दिनमै हलबाट फिल्म उत्रिने अवस्थामा पुग्नुले पूजा र आकाशको स्टारडममा प्रश्न उब्जिएको छ । तर फिल्म हेरेकाले चाहिं यसलाई रुचाएका छन् । दार्जिलिङे निर्देशक निमेष प्रधानले यसमा प्रेमकथासहित पूर्वीनेपालको चिया बगानमा कार्यरत मजदुरको कथा यसमा प्रस्तुत गरेका छन् ।

‘दर्शकको फिडब्याकले मलाई खुसी दिएको छ,’ निर्देशक प्रधानले भने, ‘चल्नु नचल्नु आफ्नो ठाउँमा होला, तर दर्शकको रिभ्यु राम्रो छ ।’ उनका अनुसार अब यो फिल्मलाई भारत लगायतका मुलुकमा प्रदर्शन गरिनेछ ।

गत साता प्रदर्शनमा आएको अनुप बराल निर्देशित ‘दोख’ले पनि निकै न्यून व्यापार गरेको छ । समीक्षात्मक रुपमा फिल्म रुचाइए पनि दोखले बक्स अफिस सफलता भने हासिल गर्न सकेन ।

आकाश श्रेष्ठ नेपाली फिल्म पूजा शर्मा सम्झना बिर्सना

 

सम्बन्धित समाचार