प्रदेशको नाम किरात नराखे ठूलो लडाइँ हुन्छ : मुख्यमन्त्री राई



विराटनगर । प्रदेशको नाम किरात नराखे ठूलो लडाइँ हुने प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले बताएका छन् । प्रदेश १ को नामको विषयलाई लिएर भड्काउपूर्ण अभिव्यक्ति दिएका राइले किरात राई यायोख्खाको टोलीलाई सम्बोधन गर्ने क्रममा उक्त अभिव्यक्ती दिएका छन् ।

राइले भने ‘अहिले तत्कालै कत्रो आन्दोलन उठ्छ, समय पनि लाग्ला, तर यो तुष भूसको आगा सल्किए जस्तो यहाँ एउटा विद्रोहको भावना यहाँका मानिसहरूसँग रहीरहनेछ’, उनले भने, ‘त्यसो हुँदा भोलि कुनै पनि बेला फेरि पनि ठूलाठूला लडाइँ झगडाको अवस्था आउने मात्र हैन भोलि देश नै विखण्डनको अवस्था आउन सक्छ, दिँदा शान्ति हुन्छ भने किन नदिने त ?’

पुरानो इतिहास, पुराना कागज, तमसुक, पुराना ढड्डामा किरात भन्ने शब्द लेखिएकोले किरात प्रदेश न्यायोचित रहेको उनले बताए । किरात भन्ने शब्द उहिल्यैको कागजपत्रमा रहेको उनको भनाई छ । ‘उहिल्यै वल्लो किरात, पल्लो किरात र माझ किरात भन्ने थियो’, मुख्यमन्त्री राईले भने, सक्ने भए तीनवटै राज्य बनाऊ हैन भने सबैलाई मिलाउँदा किरात हुन्छ, त्यही किरात प्रदेश दिँदा केही बिग्रिन्छ त ?’ उनले भने ‘मधेस प्रदेश राख्दा केही बिग्रिएको छ त ?’ मुख्यमन्त्री राईले प्रश्न गर्दै भनेका छन्, ‘दिँदा केही बिग्रिँदैन, तर नदिँदा यहाँ अशान्ति हुन्छ, मान्छे असन्तुष्ट हुन्छ, विद्रोहको भावना आउँछ भने त्यो किन नदिने ? त्यस्तो मूर्खता कुरा पनि गर्ने हो ?’ उनले भने ‘स्थिति खराब आयो भने तपाईंहरू सडकमा उत्रिन जरुरी छ’, मुख्यमन्त्री राईले भने, ‘मेरो कार्यकाल मंसिरसम्म हो मंसिरपछि आन्दोलन गर्न तपाईंहरूको साथमा आउने छु ।’

पहिचान विपरीतको पक्षमा प्रदेशको नाम आउनसक्ने तर्फ सचेत रहन आग्रह गर्दै मुख्यमन्त्री राईले पहिचानको पक्षमा नदेखिएका समूहलाई फकाउने वा दबाउन तर्फ लाग्नुपर्ने, पार्टीहरू पहिचानको पक्षमा नउभिएको अवस्थामा सांसदहरूलाई भए पनि पहिचानमा उभ्याउने गरी फकाई सम्झाई गर्न आग्रह गरे ।

सम्बन्धित समाचार