‘हनीट्यापिङ’ धन्दामा दम्पती



काठमाडौं । एक वर्षअघि युट्युब च्यानलमा भाइरल थिइन्, ‘कल्पना बस्नेत। घरपरिवारका सदस्यसँग भएका विवाद र झगडाका दृश्यहरू राखेर कल्पना युट्युबमा भाइरल बन्ने गरेकी थिइन्। उनले कहिले सासूसँग त कहिले आमाजू र नन्दविरुद्ध अनेक आरोप लगाएका सामग्री युट्युबमा राखिन्थे। ‘भाइरल’ कल्पना सोमबार भने हनीट्यापिङको उजुरीमा पक्राउ परेकी छन्। पतिसँग मिलेर निर्दोष युवाहरूलाई फसाएको आरोप उनीमाथि छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता कृष्ण कोइरालाका अनुसार कल्पनाले श्रीमान्सँग मिलेर विभिन्न व्यक्तिहरूलाई फसाउने गरेको उजुरी परेको छ। कल्पनाले सामाजिक सञ्जालमा केटीको फोटो प्रयोग गरेर पुरुषलाई खाजा खाना बोलाउने र आफूमाथि दुव्र्यहावर गरेको भन्दै पुरुषसँग पैसा माग्थिन्।

प्रहरीका अनुसार उनले पुरुषहरूलाई खाजा खान रेस्टुरेन्टमा बोलाउने, नजिक हुन खोज्ने र विभिन्न झुटा आरोप लगाउँदै ‘ब्ल्याकमेल’ गर्थिन्। कल्पना र श्रीमान् कृष्णहरि खड्का मिलेर ‘हनीट्यापिङ’ को धन्दा गर्ने गरेको प्रहरीको भनाइ छ। खड्काले आफूलाई प्रहरीको इन्स्पेक्टर भएको बताउने र युवाहरूसँग आर्थिक असुल्न सक्रिय हुन्थे। प्रहरीका अनुसार खड्काले ‘म इन्स्पेक्टर हुँ’ भनेर आर्थिक लेनदेन गर्न बाध्य पार्ने र नमान्नेलाई मुद्दा दर्ता गर्ने धम्की दिने गरेका थिए।

काठमाडौंमा एक युवाले उजुरी दिएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयले कल्पनासहित ३ जनालाई हनीट्यापिङको कसुरमा पक्राउ गरिएको जनाएको छ। प्रहरीका अनुसार सिन्धुली कमलामाई–६ घर भई बौद्ध बस्ने ३१ वर्षीया कल्पना र ३१ वर्षीय उनका पति कृष्णहरि खड्कालाई पक्राउ परेका छन्। यस्तै, भक्तपुर बालकोटका २८ वर्षीय सञ्जय कार्की पनि पक्राउ परेका हुन्। प्रहरी प्रवक्ता कोइराला भन्छन्, ‘कल्पनाका विषयमा पहिले पनि मौखिक रूपमा खबर आएको थियो। एक जना पत्रकारलाई पनि उनले ब्ल्याकमेल गरेको जानकारी थियो। अहिले लिखित उजुरी आएपछि मात्रै पक्राउ गरेका हौं।’

उजुरी दिने युवालाई कल्पनाले झुटो मुद्दाको डर देखाएर ४० लाख मागेको र ५० हजार रुपैयाँ दिइसकेको खुलेको छ। उनले अन्यलाई पनि ब्ल्याकमेल गरेको अनुमान छ। प्रहरी इन्सपेक्टरसँग कुराकानी गरेको भन्दै नक्कली इन्सपेक्टरसँग गरेको अडियो उनीहरूले पीडित युवाको घरका सदस्यलाई समेत पठाउने गरेको खुलेको छ। उनीहरूले पीडितका घरपरिवारसँग अन्यायमा परेको भन्दै कुराकानी गर्थे। आरोपीहरूलाई अपराधी लाभ लिन नहुने कसुरमा थप अनुसन्धान र कारबाही गर्न जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको अनुसन्धान कार्यालयले जनाएको छ।

सम्बन्धित समाचार