विराटनगरबाट अपहरित एक वर्षीया बालिकाको दरभंगामा सकुशल उद्धार



मोरङ । विराटनगरबाट सोमबार अपहरणमा परेकी एक वर्षीया बालिकाको प्रहरीले बुधबार भारतको दरभंगाबाट सकुशल उद्धार गरेको छ । अपहरणमा संलग्न एक महिलालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङको बुढीगंगा गाउँपालिका १ का दीपेन्द्र यादव र ममता यादवकी एक वर्षीया छोरी निकिसालाई दिपेन्द्रकी प्रेमिका अञ्जली साहले अपरहण गरेर दरभंगा पुर्‍याएको अवस्थामा सकुशल उद्धार गरेको जिल्ला प्रहरी मोरङका प्रवक्ता डीएसपी दीपक कार्कीले बताए । उनले बालिका र अपहरणमा संलग्न साहलाई अहिले बाटोमा ल्याउने क्रममा रहेको बताए । आइसकेपछि विस्तृत जानकारी प्राप्त हुने उनले सुनाए ।

तीन वर्षअघि सप्तरीको राजविराजमा विवाह भएको इञ्जिनियर दीपेन्द्रकी पत्नी अध्ययनका लागि काठमाडौं गएपछि उनको सामाजिक सञ्जालमा अञ्जलीसँग भएको भेट प्रेममा परिणत भएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । अञ्जलीले सोमबार छोरी निकिसालाई लुगा किनिदिने भन्दै दीपेन्द्रलाई विराटनगरस्थित रोडशेष चोकमा बोलाएर बालिकालाई अपहरण गरेको अनुसन्धानबाट खुलेको कार्कीले बताए ।

दीपेन्द्रलाई रोडशेष चोकको एक होटलमा चिया खान लगाएर अञ्जलीले बालिकालाई लिएर भागेपछि प्रहरीमा उजुरी गरेको थियो ।

सम्बन्धित समाचार