राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको आईपीओ बाँडफाँट



काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको धितोपत्रको प्राथमीक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले सोमबार बिहान कम्पनीको आईपीओ बाँडफाँट गरेको हो ।

कम्पनीले २९ असारदेखि १ साउनसम्म सर्वसाधारणलाई २३ लाख ६६ हजार २ सय ४० कित्ता आईपीओ विक्री खुला गरेको थियो । सार्वजनिक निष्कासन गरेको कुल सेयरमध्ये १ लाख १८ हजार ३ सय १२ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याइएको थियो ।

त्यस्तै ७० हजार ९ सय ८८ कित्ता सेयर कम्पनीका कर्मचारीको लागि छुट्याइएको थियो । बाँकी रहेको २१ लाख ७६ हजार ९ सय ४० कित्ताको लागि सर्बसाधारणबाट आवेदन माग गरेको थियो ।

उक्त सार्वजनिक निष्कासनमा १४ लाख ९१ हजार ७ सय २२ जनाबाट १ करोड ६२ लाख ७६ हजार ६ सय १० कित्ताको आवेदन परेको थियो । जसमध्ये १४ सय २४ जनाको आवेदन रद्द हुँदा १४ लाख ९० हजार २ सय ९८ जना आवेदको आवेदन सदर भएको बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

योग्य आवेदकमध्ये धितोपत्र निष्कासन तथा बाँडफाँट कार्यविधि अनुसार गोलाप्रथाबाट २ लाख १७ हजार ६ सय ९४ जना आवेदकले १० कित्ताको दरले सेयर पाएका छन् ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट आयोजना प्रभावित स्थानिय र सर्वसाधारणलाई गरि २९ करोड ४१ लाख ४१ हजार बराबरको २९ लाख ४१ लाख ४१ हजार कित्ता सेयर निष्कासनको लागि अनुमति पाएको थियो । जसमध्ये आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गरेको बिक्री नभएको ३७ हजार ६२३ कित्ता समेत जोडेर कम्पनीले सर्वसाधारणलाई आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले पूर्वी रूकुमको सिस्ने र भुमे गाउँपालिकामा पर्ने रूकुमगाड खोलाबाट ५ मेगावाट क्षमताको रूकुमगाड जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

आयोजनाको कुल लागत १ अर्ब ३३ करोड ४४ लाख २८ हजार र प्रतिमेगावाट लागत २६ करोड ६८ लाख ८६ हजार लागत अनुमान गरिएको छ ।

 

सम्बन्धित समाचार