सङ्खुवासभा । प्राकृतिक प्रकोपले क्षति पुराईरहने सङ्खुवासभामा यस बर्ष पनि पहिरोले दर्जनौ घर परिवार विस्थापित बनाएको छ । बाढी र पहिरोले नागरिकहरुलाई विस्थापित मात्र बनाएन विभिन्न संरचनाहरुमा समेत क्षति पर्याएको छ ।
यस बर्ष हालसम्म चिचिला गाउँपालिकामा सवैभन्दा बढी क्षति पुगेको जिल्ला विपद ब्यवस्थापन समितिको तथ्याङ्कमा छ । बाढि पहिरोले चिचिला गाउँपालिकामा मात्र १६ परिवार विस्थापित बनाएको छ भने ठाउँ ठाउँमा पहिरो जाँदा सडक तथा गोरेटो बाटोहरुमा क्षति पुगेको छ । पछिल्लो समय पानी पर्न कम भएसँगै भत्किएका सडक लगायत सार्वजनिक संरचनाहरु मर्मतका लागि जनप्रतिनिधीसँगै स्थानीय नागरिकहरु श्रमदानमा जुट्न थालेका छन् ।
भत्किएका संरचनाहरु निर्माण गर्न पालिकाको बजेटले नपुग्ने भएकोले स्थानीय नागरिकहरुलाई श्रमदानको लागि जनप्रतिनिधीहरुले आव्हान गरेपछि स्थानीय श्रमदानमा जुटेका हुन् । पाँच वटा वडा रहेको चिचिला गाउँपालिकामा वडा नम्बर ४ बाट श्रमदान सुरु गरिएको वडा नम्बर ४ का अध्यक्ष बालकुमार तामाङले जानकारी दिनुभयो । सडक मर्मतको लागि सरकारको मुख मात्र ताकिरहदा समय लाग्ने देखेपछि नागरिकहरुलाई श्रमदानमा जुट्न अनुरोध गरेको वडा अध्यक्ष तामाङले बताउनुभयो ।
नागरिकहरुलाई श्रमदानमा आकर्षित गराउनका लागि गाउँपालिका अध्यक्ष, उपाध्यक्ष लगायत सवै जनप्रतिनिधीहरु अग्रपंतिमा खटिएको गाउँपालिका अध्यक्ष पासाङ नुर्वू शेर्पाको भनाई छ । श्रमदानमा सवै जनप्रतिनिधीहरु सहभागि हुँदा स्थानीय गाउँलेहरु उत्साहित भएर श्रमदानमा जुटेको अध्यक्ष शेर्पाको भनाई छ । ‘हाम्रा गाउँलेहरुले यस अघि पनि श्रमदान नगरेको त होईन तर सवै जनप्रतिनिधीहरुको प्रत्यक्ष सहभागीताले थप उत्साह मिलेको छ’, अध्यक्ष शेर्पाले भन्नुभयो । वडा नम्बर ४ बाट सुरु गरिएको श्रमदानमा अन्य वडाको प्राय सवै जनप्रतिनिधीहरुको सहभागिता रहेको उहाँले जानकारी दिनुभयो ।
चिचिला गाउँपालिकाको अधिकांश सडकहरु बाढी र पहिरोले भत्काएको छ । उक्त सडक मर्मतको लागि करोड भन्दा बढि रकम आवश्यक पर्ने गाउँ कार्यपालिकाले अनुमान गरेको थियो । उक्त बजेट गाउँपालिकाबाट विनियोजन गर्न सक्ने अवस्था नरहेपछि पालिकावासीलाई श्रमदानको आव्हान गरेको गाउँपालिका अध्यक्ष शेर्पाले बताउनुभयो । गाउँपालिकाको महत्वको क्रमागत आयोजनाहरुमा नै ठुलो रकम राख्नु पर्दा विपद कोषमा पर्याप्त बजेट राख्न नसकिएको अध्यक्ष शेर्पाको भनाई छ । जिल्लामा नै चिचिलालाई सवैभन्दा थोरै बजेट प्राप्त भएपछि विपदमा आवश्यकता अनुसारको बजेट राख्न नसकिएको उहाँले प्रष्ट पार्नुभयो ।
यस बर्ष भत्किएका प्राय सवै संरचना श्रमदानले नै सम्पन्न गर्ने तयारी गरिएको विपद ब्यवस्थापन समिति संयोजक एवम् वडा नम्बर ४ का अध्यक्ष जीतबहादुर राईले जानकारी दिनुभयो । अत्यावश्यक तथा मानवीय श्रोतबाट सम्भव नभएको ठाउँमा मात्र पालिकाको बजेट प्रयोग गरिने अध्यक्ष राईले बताउनुभयो । आथिक बर्ष २०७९।८० मा विपद ब्यवस्थापनको लागि ५० लाख रुपैयाँ रकम विनियोजन गरिए पनि उक्त रकमले विस्थापितहरुको पुर्नस्थापना गर्न नै अपुग हुने राईको दावी छ ।
चिचिला गाउँपालिका बाढि र पहिरोको मात्र नभएर असिनाको पनि प्रकोप क्षेत्र हो । गत मंसिरमा पाकेको धानलाई असिनाले कुटेर नष्ट बनाएको थियो भने गत बैशाखमा उम्रिदै गरेको मकै, आलु लगायतका बालीहरुलाई नष्ट गरेको थियो । उक्त क्षति वापत पनि गाउँपालिकाले पिडितहरुलाई राहत वितरण गरेको थियो ।
प्रतिक्रिया