६ बालिका बलात्कार आरोपमा किशोर पक्राउ



वीरेन्द्रनगर । सुर्खेतमा ६ जना बालिका बलात्कार आरोपमा एक किशोर पक्राउ परेका छन् । करिब डेढ महिनाअघि पञ्चपुरी नगरपालिकाका ६ जना बालिका बलात्कार गरेको आरोपमा सोही नगरपालिकाका साढे १४ वर्षीय किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

पाँचदेखि सात वर्षसम्मका ६ बालिकालाई चकलेट दिएर ललाइफकाई फरक–फरक समयमा बलात्कार गरेको एक बालिकाकी आमाले बताइन् । डेढ महिनाअघिदेखि भइरहेको घटनाबारे साउन ११ गते मात्रै एक बालिकाले भनेपछि अभिभावकले थाहा पाएका हुन् । ‘घटना हुनेबित्तिकै हामीले त केही थाहा नै पाएनौँ,’ उनले भनिन्, ‘धेरै पीडा भएपछि एउटी नानीले भनेपछि मात्रै थाहा भयो । त्यो केटाले पहिले चकलेट दिन्छु भनेर फकाएको रहेछ, कसैलाई भने मार्दिन्छु भनेर धम्की पनि दिएको रहेछ ।’ बालिकामध्ये एक जनाको योनिमा घाउसमेत देखिएको उनको भनाइ छ । डेढ महिनाको अवधिमा ती बालिकामध्ये केहीलाई एकपटक र केहीलाई दुई पटकसम्म बलात्कार गरेको बालिकाका आमाहरूले बताएका छन् ।

आफ्ना छोरीहरूमाथि बलात्कार भएको भन्दै पीडित पक्षले साउन ११ गते इलाका प्रहरी कार्यालय बाबियाचौरमा बालकविरुद्ध उजुरी दर्ता गराएका थिए । उजुरी दर्ता भएलगत्तै आरोपित किशोरलाई प्रहरीले शनिबार पक्राउ गरेको हो । ‘उसले एक पटक मात्रै बलात्कार गरेको स्विकारेको छ,’ इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर टेकबहादुर देउवाले भने, ‘तर केही बालिकालाई तीन पटकसम्म पनि बलात्कार गरेको पीडितले बयान दिएका छन् ।’ किशोरलाई इलाका प्रहरी कार्यालय बाबियाचौरबाट ल्याएर जिल्ला प्रहरी सुर्खेतको हिरासतमा राखिएको छ । जिल्ला प्रहरीका डीएसपी सुरज कार्कीले घटनाबारे अनुसन्धानपछि मात्रै थाहा हुने बताए । ‘अहिले केही भन्न सकिने अवस्था छैन,’ उनले भने, ‘हामी अनुसन्धानमै छौँ, बलात्कार भएरनभएको त्यसपछि मात्रै थाहा हुन्छ ।’ बालिकाहरूको मेडिकल जाँचका लागि पनि प्रक्रिया थालिएको प्रहरीले जनाएको छ ।

बलात्कार आरोपमा पक्राउ परेका किशोरले अपराध गरेको पुष्टि भएमा उनलाई बाल सुधारगृहमा राख्ने व्यवस्था रहेको अधिवक्ता गीता कोइरालाले बताइन् । अहिले संशोधित मुलुकी अपराध संहिताअनुसार ती किशोरलाई जबरजस्ती मुद्दा चल्छ । फौजदारी अपराध संहिताको दफा ४५ को उपदफा ३ मा १४ वर्ष वा १४ वर्षभन्दा माथि र १६ वर्षभन्दा कम उमेरको व्यक्तिले सजाय हुने कुनै पनि कसुर गरेमा निजलाई उमेर पुगेकालाई हुने सजायको आधा सजाय हुनेछ ।

 

 

सम्बन्धित समाचार