नवौं राष्ट्रिय खेलकुद : प्रदेश १ ले ३४ प्रतियोगितामा सहभागिता जनाउँदै



नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्रदेश १ ले ३४ वटा खेलमा सहभागिता जनाउने भएको छ ।

राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म पोखरामा हुने छ । प्रदेश १ खेलकुद विकास बोर्डका अनुसार राष्ट्रिय खेलकुदमा प्रदेश १ बाट ३४ वटा प्रतियोगितामा सहभागिता जनाउने गरी तयारी भइरहेको छ । नवौं प्रतियोगितामा ३६ वटा खेलमा प्रतिस्पर्धा हुने छ ।

बोर्डका सदस्य सचिव हंशराज वाग्लेले ३४ वटा प्रतियोगितामा प्रदेश १ का छ सय ९४ जना खेलाडीले प्रतिस्पर्धा गर्ने जानकारी दिए। त्यसको तयारीका लागि प्रदेश खेलकुद विकास बोर्डले भदौ पहिलो साताबाट खेलाडी छनोट थाल्ने उनको भनाइ छ ।

पहिलो चरणमा छनोट भएका खेलाडीलाई बोर्डले भदौ १० गतेबाट १९ गतेभित्र प्रदेशस्तरीय खेलकुदमा स्पर्धा गराउने वाग्लेको भनाइ छ । उनका अनुसार प्रदेशस्तरीय खेलाडी चयन प्रदेश १ का १४ जिल्लामा आयोजना गर्नेतर्फ बोर्ड प्रयासरत छ ।

छनोट प्रतियोगितामा ३५ हजारभन्दा बढी खेलाडी सहभागी हुने अपेक्षा गरिएको छ । सदस्य सचिव वाग्लेले खेलकुदमा प्रदेशबाट अफिसिलय टोली प्रशिक्षक र व्यवस्थापक गरेर ८८ जना रहने जानकारी दिए।

यसअघि आठौं राष्ट्रिय खेलकुदमा प्रदेश १ सातौं स्थानमा सीमित भएको थियो। आठौंमा प्रदेशले नौवटा स्वर्ण, २० वटा रजत, र ५९ वटा कास्य पदक जितेको हो ।

३६ वटा खेलमा प्रतिस्पर्धा हुने नवौंमा राष्ट्रिय खेलकुदमा भने प्रदेश १ ले विभिन्न ३४ खेलमा सहभागिता जनाउनेछ। यस प्रतियोगितामा सातवटा प्रदेशसँगै तीनवटा विभागीय टोली र गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० गरी कूल ११ टोलीको सहभागिता रहने जनाइएको छ।

 

सम्बन्धित समाचार