आन्तरिक ब्यवस्थापनबाट विशेषज्ञ सेवा दिदै खाँदबारी अस्पताल



खाँदबारी । सरकारले कुनै विशेषज्ञ चिकित्सक नपठाए पनि जिल्ला अस्पताल सङ्खुवासभाले आन्तरिक ब्यवस्थापनबाट विशेषज्ञ सेवा दिदै आएको छ । ७ जना विशेषज्ञ सहितको दरवन्दी भए पनि छात्रबृत्ति करारका मेडिकल अधिकृत मात्र पठाए पछि आफ्नै ब्यवस्थापनमा अस्पतालले विशेषज्ञ सेवा दिन थालेको हो ।

विभिन्न दातृ निकायहरुसँग सहकार्य गरि अस्पतालमा पाँच जना विशेषज्ञहरुबाट सेवा दिदै आएको हो । अहिले बाल रोग विशेषज्ञ २ जना, हाड जोड्नी विशेषज्ञ १ जना एनेष्थेसियोलोजिष्ट १ जना र एमडिजिपी एक जना नियुक्त गरि सेवा दिदै आएको हो । उक्त विशेषज्ञहरुबाट ३ शैयाको आईसियु सेवा समेत सञ्चालन गरिएको छ ।
अस्पतालले साझेदार संस्थाहरुको खोजी गरि २ जना डेन्टल सर्जनबाट समेत सेवा दिदै आएको छ । अस्पतालमा स्त्री तथा प्रसुति रोग विशेषज्ञ र जेनेरल सर्जन अत्यावश्यक रहेकोले निकट भविश्यमा नै सो को समेत ब्यवस्थापन गर्ने गरि काम भईरहेको अस्पताल ब्यवस्थापन समिति अध्यक्ष सुमन शाक्यले जानकारी दिनुभयो ।

अस्पतालमा विशेषज्ञ चिकित्सक राख्नका लागि निक साईमन नामक गैह्र सरकारी संस्था, अरुण तेश्रो जलविद्युत परियोजना र कोक्रो सार्वजनिक शैक्षिक गुठिले आर्थिक तथा प्रविधिक सहयोग रहेको अस्पतालले जनाएको छ । अस्पतालको लागि माथिल्लो निकायबाट चिकित्सकहरु सरकारले नपठाएपछि श्रोतको खोजी गरि सेवा दिन थालिएको अस्पताल ब्यवस्थापन समिति अध्यक्ष शाक्यले बताउनुभयो ।

जिल्ला अस्पतालको ब्यवस्थापन समितिमा आफु आएदेखि नै दरवन्दी अनुसारको चिकित्सक तथा कर्मचारी प्रदेश र संघमा माग गरे पनि नआएपछि विकल्प खोजिएको अध्यक्ष शाक्यको भनाई छ । लामो प्रयास पछि गत बर्ष प्रदेश सरकारले विशेषज्ञ चिकित्सक राख्नको लागि ९३ लाख रुपैयाँ बजेट विनियोजन गरे पनि कार्यन्वयन गर्न नसकेको अध्यक्ष शाक्यले बताउनुभयो ।

विशेषज्ञ चिकित्सक भर्ना गर्न स्वास्थ्य मन्त्रालयले छनौट गर्नु पर्ने प्रावधान छ । प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट चिकित्सक राख्न स्वास्थ्य मन्त्रालयलाई ताकिता गर्दा पनि सरकारले चिकित्सक पठाउन नसकेको अध्यक्ष शाक्यको गुनासो छ । ‘हामी आफैले राख्न मिल्ने भए राखिसक्थ्यौ, बल्लबल्ल पाएको बजेटबाट पनि मन्त्रालयले चिकित्सक पठाउन सकेन’, शाक्यले भन्नुभयो ।

निर्देशिका अनुसार पाँचौ तहसम्मको मात्र अस्पतालले पदपूर्ती गर्न मिल्ने प्रावधान छ । त्यस माथीको मेडिकल अधिकृत क्षेत्रीय स्वास्थ्य निर्देशनालय र त्यस भन्दा माथीको चिकित्सक मन्त्रालयले मात्र पदपूर्ती गर्न मिल्ने ब्यवस्था छ ।

सम्बन्धित समाचार