प्रदेश १ मा बन्दको प्रभाव आंशिक



विराटनगर । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित चार कम्युनिष्ट पार्टीले आज आह्वान गरेको बन्दको प्रभाव प्रदेश १ मा आंशिक रुपमा मात्र देखिएको छ । प्रदेश १ का १४ वटै जिल्लामा बन्दको प्रभाव सामान्य देखिएको विराटनगरस्थित प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेश १ मा बन्दको प्रभाव खासै नपरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नविनराज राई बताउँछन् । बन्दको समयमा निजी तथा सार्वजनिक सवारी साधन कम चलेका छन् । बजार पसल, शिक्षण सस्था लगायतमा पनि न्यून प्रभाव छ । ‘गाडीहरू केही पालतो कुदेका छन्, बन्दको प्रभाव अन्य क्षेत्रमा खासै परेको छैन,’ एसपी राईले  भने, ‘इलाममा केही बन्दकर्ता देखिएका छन्, बाँकी जिल्लामा बन्दकर्ता सडकमा छैनन्, अहिलेसम्म त्यस्तो केही अप्रिय घटना पनि भएको छैन ।’

विप्लव नेतृत्वको नेकपासहित ऋषि कटेल अध्यक्ष रहेको नेकपा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र नेकपा माओवादी समाजवादीले एक दिने बन्द आह्वान गरेका हुन् । सरकार र नेकपाबीच भएको सहमति विपरित नेकपाका महासचिव विप्लवसहितका नेता कार्यकर्ताविरुद्ध पक्राउ पुर्जी जारी गरिएको विरोधमा बन्द आह्वान गरिएको हो ।

उनीहरूले एमसीसी सम्झौता खारेज गर्नुपर्ने, नेकपासँग भएको ३ वुँदे सहमति कार्यान्वयन गर्नुपर्ने र महङ्गी तथा भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने माग पनि अघि सारेका छन् ।

सम्बन्धित समाचार