११ वर्षसम्म पूरा भएन पुल



पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका र तेह्रथुमको म्याङलुङ नगरपालिका सिमाना छुट्याएर बग्ने तमोर नदीको लुमु घाटमा ११ वर्षअघि सुरु भएको पुल अझै सम्पन्न भएको छैन ।

ती दुई जिल्लालाई सडक सञ्जालले जोड्ने उक्त पुल बनाउन स्वच्छन्द निर्माण सेवा नामक ठेकेदार कम्पनीले २०६८ असार २६ मा सडक विभाग मातहतको पुल सेक्टरसँग १७ करोड निर्माण लागतमा सम्झौता गरेको थियो । १ सय ५७ मिटर लम्बाइ र ३ मिटर चौडाइको उक्त पुलको काम तीन वर्षभित्रै सक्ने भनिए पनि अहिलेसम्म आधा कामसमेत सकिएको छैन ।

आठ पिलर रहने पुलमा हालसम्म चार पिलर उठाएर ढलान गरिए पनि चार पिलरको काम बाँकी छ । निर्माण व्यवसायी र तिनका कर्मचारीलाई पटकपटक तागेता गर्दा पनि काम अगाडि नबढेको कुम्मायक गाउँपालिकाका अध्यक्ष बमप्रसाद लावती बताउँछन् । उक्त पुल नबन्दा पाँचथर सदरमुकाम फिदिमदेखि यासोक हुँदै तेह्रथुम सदरमुकाम म्याङलुङ जोड्ने ४५ किलोमिटर सडकमा सवारी र ढुवानी साधन ओहोरदोहोर भइरहेको छैन । फिदिमदेखि लुमुघाट जोड्ने ४५ किलोमिटर र म्याङलुङदेखि लुमुघाट पुलसम्म १९ किलोमिटर सडक भने पाँच वर्ष अगाडि नै निर्माण सम्पन्न भएको थियो ।

उक्त सडकमा गाडी गुड्छ तर पुल नहुँदा ती साधन वारपार भने गर्न सक्दैन । मोटर साइकल र पदयात्री भने नजिकैको झोलुंगे पुलबाट आइजाइ गर्छन् । सम्झौता–पत्रमा ठेकेदार कम्पनीले २०७२ असार २५ भित्र पुल हस्तान्तरण गर्नुपर्ने उल्लेख थियो ।

ठेकेदार कम्पनी स्वच्छन्द निर्माण सेवाका प्रबन्ध निर्देशक जयराम लामिछाने २०७२ को भूकम्प, त्यसपछिको नाकाबन्दी, लकडाउन लगायतका कारणले काममा ढिलाइ भएको दाबी गर्छन् । यस्तै कारण देखाएर निवेदन पेस गरेकै आधारमा सरकारले निर्माण कम्पनीलाई सात पटक म्याद थपिसकेको छ ।

सडक विभागको पुल सेक्टरले भने निर्माण व्यवसायीले हरेक वर्ष वर्षा सुरु हुने बेलामा फिल्डमा आएर काम गरेझै गर्ने त्यसपछि भाग्ने गरेको जनाएको छ । निरन्तर आग्रह गर्दा पनि व्यवसायीले अटेरी गरेको पूर्वभौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङ बताउँछन् । उनी भन्छन्, ‘सांसद र मन्त्रीका हैसियतमा पटकपटक भने पनि टेरेनन्, ठूला ठेकेदारको मुख्य दलका प्रभावशाली नेता र सरकार / सत्ताका मुखियासम्मै पहुँच हुने भएकाले सडक विभाग एवं अन्य सरकारी निकायलाई टेर्दैनन् ।’

सम्बन्धित समाचार