संखुवासभा कांग्रेसकै भागमा पर्छ भन्ने छैन : केन्द्रीय सदस्य रायमाझी



खाँदबारी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा ‘जनताको साथमा कांग्रेस’ अभियानका केन्द्रीय प्रतिनिधी उमेश जंग रायमाझीले आसन्न निर्वाचनमा गठबन्धन दलहरु मध्ये जस्लाई जुन क्षेत्र पनि भागमा पर्ने सक्ने बताउनुभएको छ । सिट बाँडफाड तथा क्षेत्र निर्धारण गर्ने क्रममा नेपाली कांग्रेसले पनि आफुले चाहेको जिल्ला तथा क्षेत्र नपाउने बताउनु भएको हो ।

नेपाली कांग्रेस जिल्ला कार्य समिति संखुवासभाको आयोजनामा अभियान उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । कत्तिपय ठाउँमा नेपाली कांग्रेसको राम्रो सम्भावना हुँदाहुँदै पनि गठबन्ध भित्रका अन्य दललाई छोड्नु पर्ने बाध्यता आईपर्ने उहाँले बताउनुभयो । संघीय प्रतिनिधीका लागि एक क्षेत्र मात्र रहेको संखुवासभामा पनि नेपाली कांग्रेसले नै पाउँछ भन्नेमा ढुक्क नरहन समेत रायमाझीले आग्रह गर्नुभयो । गठबन्धन बनाएर निर्वाचनमा जानु राष्ट्रिय आवश्यकता भएकोले केन्द्रीय नेतृत्वले गरेको बिवेकपुर्ण निर्णयको पक्षमा उभिन तयार रहन समेत उहाँले अनुरोध गर्नुभयो ।

कार्यक्रममा बोल्नुहुँदै पुर्व राज्यमन्त्री तथा संखुवासभा सभापति दिपक खड्काले संखुवासभामा संघीय सांसद नेपाली कांग्रेसकै भागमा हुनु पर्ने दावी गर्नुभयो । दलहरुको लोकप्रियता र प्राप्त मत हेर्दा नेपाली कांग्रेसलाई पछाडी पारेर गठबन्धनमा रहेका अन्य दलहरुलाई अगाडी सारे सकरात्मक नतिजा नआउने समेत सभापति खड्काले बताउनुभयो । संघीय सांसदमा नेपाली कांग्रेसलाई दिएर प्रदेशमा अन्य दलसँग साझेदारी गर्न सकिने समेत सभापति खड्काले बताउनुभयो ।

खाँदबारी नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा संविधान सभा सदस्य पासाङ शेर्पा, प्रदेश कार्य समितिका पदाधिकारीहरु, महाधिवेशन प्रतिनिधीहरु लगायत नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिती रहेको थियो । शुक्रबार उद्घाटन गरिएको ‘जनताको साथमा कांग्रेस’ अभियान गाउँगाउँसम्म पुर्याईने बताईएको छ ।

सम्बन्धित समाचार