खाँदबारी-नुम सडक कालोपत्रेः १४ महिनामा ७ प्रतिशत भौतिक प्रगति (भिडियाे सहित)



खाँदबारी । तीन देश जोड्ने उत्तर दक्षिण कोशी राजमार्ग अन्तर्गत सङ्खुवासभा सदरमुकाम खाँदबारीदेखि नुमसम्मको सडक कालोपत्रे गर्न १४ महिना अघि निर्माण कम्पनीसँग सम्झौता भएको थियो । सम्झौता भएदेखि यता हालसम्म ७ प्रतिशत मात्र भौतिक प्रगति रहेको निर्माण कम्पनीले जनाएको छ ।

सडक निर्माण नगरेको तथा ठाउँ ठाउँमा खनेर छोडेकोले यातायात अवरुद्ध भएको गुनासो पछि जिल्ला समन्वय समितिले बोलाएको बैठकमा निर्माण ब्यावसायी सुरेन्द्र पाठकले उक्त प्रगति जानकारी गराउनुभएको हो । उक्त सडक कालोपत्रे गर्न ठेक्का पाएको शर्मा शिवशक्ति जेभिले काम गर्न बेवास्ता गरेको स्थानीयको गुनासो छ । सम्झौतापछि ठाउँ ठाउँमा खनेर छोडेकोले सडक हिलाम्य बनेपछि यातायात अवरुद्ध छ । निर्माण सम्पन्न गर्नु पर्ने आधा भन्दा बढि समय वित्दा पनि निर्माण क्षेत्रमा काम नभएको र सडक अवरुद्ध गरेपछि नागरिकहरुको गुनासो बढेको हो ।

जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा जिल्लाका राजनितिक दलका प्रतिनिधीहरुले निर्माण कम्पनीसँग निर्माण कार्य अघि नबढ्नुको कारण बारे स्पष्टिकरण मागेका थिए । निर्माण सम्पन्न गर्नु पर्ने आधा समय वित्दा पनि काम सुरु नहुनु दुखद भएको नेपाली कांग्रेस सङ्खुवासभाका कार्यबाहक सभापति अनन्त गौलीले बताउनुभयो । १४ महिना वित्दा पनि काम हुने छाँटकाँट नदेखिएकोले हालको ठेक्का रद्ध गरेर नयाँ प्रकृयामा जानु पर्ने समेत कार्यबाहक सभापति गौलीले सुझाव राख्नुभयो ।

कार्यक्रममा सहभागी नेकपा एमाले सङ्खुवासभाका जिल्ला अध्यक्ष जीतबहादुर घिमिरेले समयमा काम नहुनुमा उत्तर दक्षिण कोशी सडक आयोजना कार्यालयको पनि कमजोरी रहेको औल्याउनुभयो । समयमा काम गर्न कार्यालयले ताकिता गर्नु पर्नेमा चुपचाप बसेको आरोप लगाउनुभयो । निर्धारित समय भित्र कालो पत्रेको काम सम्पन्न नभए आयोजना कार्यालय पनि जवाफदेहि बन्नु पर्ने अध्यक्ष घिमिरेको भनाई छ ।

बैठकमा उठेका विषयहरुको जवाफ दिनुहुँदै निर्माण ब्यवसायी सुरेन्द्र पाठकले अब बर्षात रोकिएकोले धमाधम काम हुने बताउनुभयो । यस अघि निरन्तरको बर्षातको कारण लगातार काम गर्न नसकेको जानकारी गराउनुहँदै आगामी चैत मसान्त भित्रमा ७ किलोमिटर कालो पत्रे र अन्य क्षेत्रमा स्ट्रक्चरको काम सम्पन्न गर्ने योजना रहेको बताउनुभयो । कोरोना कालमा सम्झौता भई काम सुरु भएको आयोजनालाई एक बर्ष म्याद थपिने भएकोले उक्त थपिएको मिति भित्र सम्पुर्ण कार्यहरु सम्पन्न गर्ने निर्माण ब्यावसायी पाठकले प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

पाठकले गरेको प्रतिबद्धताको आधारमा काम भए नभएको सरोकारवालाहरुले अनुगमन गर्ने बैठकले निर्णय गरेको छ । जिल्ला समन्वय समितिको संयोजकत्वमा सवै राजनितिक दलका प्रतिनिधी, उत्तर दक्षिण सडक आयोजनाको कार्यालय, सञ्चारकर्मी लगायतका सरोकारवालाहरुले निरन्तर अनुगमन गर्ने बैठकले निर्णय गरेको हो । निर्माण ब्यवसायी पाठकले प्रतिबद्धता जनाए अनुसारको काम आगामी चैत मसान्त भित्र नभएर ठेक्का रद्ध गरि कारवाहिको प्रकृया अघि बढाउने समेत बैठकले निर्णय गरेको छ ।

शर्मा शिवशक्ति जेभिले २०८० पुष १७ गते सम्पन्न गर्ने गरि २०७८ असार १७ गते उत्तर दक्षिण कोशी सडक आयोजनाको कार्यालय सङ्खुवासभासँग सम्झौता गरेको थियो । ३९ किलोमिटर सडकको कालोपत्रे गर्नका लागि ४८ प्रतिशत ‘बिलो’मा शर्मा शिवशक्ति जेभिले ठेक्का पाएको थियो । २ अर्ब ६० करोड रकम विनियोजन भएकोमा शर्मा शिवशक्तिले १ अर्ब २७ करोडमा ठेक्का पाएको हो ।

 

सम्बन्धित समाचार