दशैंको नवमी, दशमी र एकादशीकाे दिन देशभर वर्षा हुने सम्भावना



धरान । यस वर्षको मनसुन एक साता धकेलिने भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सामान्यतयास् १६ असोज अर्थात् फूलपातीभित्र मनसुन बाहिरिइसक्नुपर्ने भए पनि बङ्गालको खाडीमा सामुद्रिक आँधी बनेपछि मनसुन कम्तीमा एक साता पर धकेलिएको हो।

यसैबिच मौसम पूर्वानुमान महाशाखाले विजया दशमी, एकादशी र द्वादशीका दिन ठुलो पानी पर्ने प्रक्षेपण गरेको छ। महाशाखाले मनसुनको उत्तरार्धमा भारतको आन्ध्र प्रदेशको तट तथा पश्चिम(मध्य बङ्गालको खाडीको तल्लो तटीयमा बनेको सामुद्रिक आँधीका कारण नेपालमा नवमी अर्थात् १८ असोजबाट मनसुनी वर्षा हुने प्रक्षेपण गरेको हो।

हाल बङ्गालको खाडीमा विकसित भइरहेको न्यून चापीय क्षेत्र उत्तर पश्चिमी तर्फ सर्दै जाने क्रममा असोज १८ गतेदेखि नेपालमा पनि यस प्रणालीको प्रभाव पर्ने हुँदा मनसुनी वर्षा सक्रिय हुनेछ। ‘नेपालमा यसको अवसरका कारण नवमीबाट वर्षा हुने देखिएको छ। विजया दशमीको दिन देशभर वर्षा हुने देखिएको छ,’ महाशाखाले शुक्रवार दसैँका लागि विशेष मनसुन बुलेटिन जारी गर्दै असोज २१ द्वादशीसम्म वर्षा हुने प्रक्षेपण गरेको छ।

विजया दशमीका दिन देशका धेरैजसो क्षेत्रमा ठुलो वर्षाको आङ्कलन गरिएको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका थोरै क्षेत्रमा त भीषण वर्षा हुने आङ्कलन महाशाखाले गरेको छ। यस्तै नवमीका दिन प्रदेश १, बागमती र गण्डकी प्रदेशसहित अन्य क्षेत्रमा वर्षा हुने अनुमान गरिएको छ। महाशाखाका अनुसार २० असोज एकादशीमा अझ धेरै वर्षा हुने आङ्कलन गरिएको छ। यो दिन देशभर बदली हुने र सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही क्षेत्रमा भारी वर्षाको चेतावनी दिइएको छ।

२१ असोजमा पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका धेरै ठाउँ र बाँकी प्रदेशका केही क्षेत्रमा वर्षा हुनेछ। यी प्रदेशका केही क्षेत्रमा भीषण वर्षाको सम्भावना छ ।
पछिल्लो एक साता मनसुनी गतिविधि निष्क्रियजस्तै भएकोमा फेरि गतिविधि देखा परेका हुन्। गत वर्ष पनि दसैँताका नेपालमा ठुलो वर्षा हुनुका साथै बाढीले धानबाली नष्ट गरेको थियो।

सम्बन्धित समाचार