पौष २६ बाट पाँचौं आङ्बुरा कप फुटबल प्रतियोगिता हुँदै



धर्मदेवी । सङ्खुवासभा धर्मदेवी नगरपालिका ७ स्थीत आँखिभुईमा पौष २६ बाट पाँचौं आङ्बुरा कप महिला तथा पुरुष फुटबल प्रतियोगिता सुरु हुने भएको छ ।

स्थानीय न्यू युवा क्लवको आयोजनामा आमन्त्रित फुटबल प्रतियोगिता सुरु हुने भएको हो । पुरुष फुटबल तर्फ सङ्खुवासभा, मोरङ र तेह्रथुमका गरि १२ टिमको सहभागि रहने क्लवका अध्यक्ष नवीन जिमीले जानकारी दिनुभयो ।

धर्मदेवी नगरपालिकाबाट ६ टिम, संखुवासभाकाे अन्य ४ टिम, मोरङको १ र तेह्रथुमको १ टिमलाई आमन्त्रण गरिएको अध्यक्ष जिमिले जानकारी दिनुभयो । धर्मदेवी सहित सङ्खुवासभाको खेलाडिहरुको विकासका लागि बाहिर जिल्लाका टिमलाई पनि आमन्त्रण गरिएको बताईएको छ ।

पुरुष फुटबल तर्फ विजेताले १ लाख १ हजार १०५ रुपैयाँ र उपविजेताले ५१ हजार १०५ रुपैयाँ नगद, कप, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने क्लवले जनाएको छ । उत्कृष्ठ गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र खेलाडीलाई जनहि २ हजार प्रदान गरिने छ ।

महिला फुटबलमा भने संखुवासभाको स्थानीय क्लवहरु मात्र सहभागी हुनेछन् । महिला फुटबलका विजेताले नगद १५ हजार, उपविजेताले ८ हजार, कप मेडल र प्रमाण पत्र प्रदान गरिनेछ ।

प्रतियोगिता सञ्चालनको लागि धर्मदेवी नगरपालिका ७ नम्बर वडाको प्रमुख आर्थिक सहयोग रहेको छ भने विभिन्न दाताहरुबाट पनि सहयोग संकलन गरिने आयोजकले जनाएको छ । प्रतियोगिता माघ १ गते सम्पन्न हुनेछ ।

सम्बन्धित समाचार