रोनाल्डोलाई खेल बाहिर राखेपछि पोर्चुगलका मुख्य प्रशिक्षक सान्तोस बर्खास्त



लिस्वन । पोर्चुगल राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोस बर्खास्तमा परेका छन् । कतारमा जारी फिफा विश्वकपबाट पोर्चुगल बाहिरिएपछि उनलाई पोर्चुगल फुटबल महासंघले बर्खास्त गरेको हो ।

नकआउट र क्वार्टरफाइनलमा कप्तान क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेपछि सान्तोसको चर्को आलोचना भएको थियो । तर उनले रोनाल्डोलाई सुरुवाती ११ मा नराख्नु गल्ती नभएको अडान राख्दै आएका थिए । पोर्चुगल क्वार्टरफाइनलमा मोरक्कोसँग पराजित भएसँगै विश्वकपबाट बाहिरिएको थियो ।

पहिलोपटक क्वार्टरफाइनलमा पुगेको ​मोरक्कोसँग हारेपछि प्रशिक्षक सान्तोसको आलोचना थप बढेको थियो । पोर्चुगल फुटबल महासंघले उनीसँग सन् २०२४ सम्मका लागि सम्झौता गरेको थियो । तर उनी सम्झौता सकिन अगावै बर्खास्तमा परेका हुन् । मुख्य प्रशिक्षकका रुपमा उनी पछिल्लो आठ वर्षदेखि आबद्ध थिए ।

सम्बन्धित समाचार