मकालु गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डमा हेमाद्री मावि प्रथम



नुम । हालै सम्पन्न भएको मकालु गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा हेमाद्री माध्यमिक विद्यालय सेदुवा प्रथम भएको छ । २८ खेलमा ११ स्वर्ण सहित हेमाद्री मावि प्रथम बनेको हो ।

हेमाद्री माविले ६ रजत र १२ काश्य गरि २९ रजत पदक जितेको छ । प्रतियोगितामा महेश्वरी माध्यमिक विद्यालय नुम १० स्वर्ण सहित दोश्रो भएको छ । महेश्वरीले १० रजत र ५ काश्य गरि २५ पदक जितेको छ । हिमालय माध्यमिक विद्यालय हेदाङ्ना ७ स्वर्ण, १२ रजत र ११ काश्य सहित तेश्रो बनेका छन् ।

राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा भलिबल, कबड्डी, हाइजम्प, त्रिपल जम्प, लङजम्प, ज्याब्लिङ थ्रो, सटफुट र विभिन्न दुरीका दौड प्रतियोगिता आयोजना गरिएको थियो । उक्त खेलहरुमा छात्रा तर्फ १४ र छात्र तर्फ १४ गरि जम्मा २८ वटा खेलमा प्रतिस्पर्धा गराइएको थियो ।

माघ १५ बाट सुरु गरिएको प्रतियोगिता १८ गते समापन गरिएको थियो । मकालु गाउँपालिका शिक्षा संयोजक पुष्प बहादुर तामाङको अध्यक्षतामा आयोजित समापन कार्यक्रममा पालिका उपाध्यक्ष मनकला राई र प्रमुख प्रसासकिय अधिकृत इन्द्र बहादुर दर्जी लगायतले विजयी खेलाडीहरुलाई बधाई दिदै कप, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतियोगिता सिंहेश्वरी माध्यमिक विद्यालयले आयोजना गरेको थियो । कार्यक्रम सञ्चालन गर्नको लागि मकालु गाउँपालिकाले आर्थिक सहयोग गरेको थियो ।

सम्बन्धित समाचार