मादी नगरपालिकामा राष्ट्रब्यापी ब्याटमिन्टन हुँदै



खाँदबारी । संखुवासभाकाे मादी नगरपालिकाले ३ विधामा राष्ट्रब्यापी डबल ब्याटमिन्टनको अयोजना गर्ने भएको छ । बुधबार नगरपालिकाले पत्रकार सम्मेलनको आयोजना गरि फागुन २८ बाट प्रतियोगिताको आयोजना गर्ने भएको हो ।

पालिकाले खुल्ला पुरुष, खुल्ला महिला र खुल्ला भेट्रान्स (४५ बर्ष भन्दा माथीका) डबल ब्याटमिन्टन प्रतियोगिताको आयोजना गर्न लागेको हो । मादी नगरपालिकाको कभर्ड हलमा प्रतियोगिताको आयोजना गर्न लागिएको मादी नगरपालिकाका नगर प्रमुख जीवन लिङ्थेमले जानकारी दिनुभयो ।

तीन विधाको खेलमा ९० टिमको अपेक्षा गरिएको प्रमुख लिङ्थेपले बताउनुभयो । पुरुष तर्फ ५०, महिला तर्फ १५ र भेट्रान्स तर्फ २५ टिमको सहभागी हुने अपेक्षा रहेको लिङ्थेपले बताउनुभयो । प्रतियोगितामा राष्ट्रिय स्तरमा खेल्ने खेलाडीहरुको समेत सहभागिता रहने उहाँले बताउनुभयो ।

नगरपालिकाले ‘पृथक पहिचान: मादी नगरकाे सान’ भन्ने नाराका साथ प्रतियाेगिताकाे आयाेजना गर्न लागेकाेहाे हाे । अन्य स्थानीय तहहरुले भलिबल, फुटबल जस्ता खेलहरुकाे आयाेजना गरिरहदा मादी नगरपालिकाले ब्याटमिन्टन खेलकाे विकासकाे लागि पृथक अभ्यास सुरु गरेकाे प्रतियाेगिताकाे संयाेजक लक्षमण लिङ्थेपले जानकारी दिनुभयाे ।

विगतको बर्षदेखि नै ब्याटमिन्टन खेलको आयोजना गर्दै आएको मादी नगरपालिकाले गत बर्ष प्रदेश स्तरीय प्रतियोगिताको आयोजना गरेको थियो । यस बर्ष पुरस्कार रकम थप गरेर राष्ट्रब्यापी प्रतियोगिता गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत प्रकाश मगरले बताउनुभयो ।

यस बर्ष खुल्ला पुरुष तर्फको विजेताले नगद ७५ हजार, उपविजेताले ५० हजार र सेमी फाईनलमा प्रवेश गर्ने बाँकी दुवै टिमले १५,१५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । खुल्ला महिला ब्याटमिन्टन तर्फ विजेताले ४५ हजार, उपविजेताले ३० हजार र सेमिफाईनलमा प्रवेश गर्ने बाँकी दुवै टिमले १०,१० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

भेट्रान्स तर्फको विजेताले नगद ४० हजार रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले नगद २५ हजार र सेमिफाईनलमा खेल्ने बाँकी दुवै टिमले ८,८ हजार रुपैयाँ प्राप्त गर्नेछन् । उक्त पुरस्कार रकममा कर कट्टा नगरिने पत्रकार सम्मेलनमा बताईएको छ ।

प्रतियाेगिताकाे उपाधी विजेता तथा सेमिफाईनलमा प्रवेश गर्ने (तेश्राे हुने) ले शिल्ड, मेडल र प्रमाण पत्र समेत प्राप्त गर्नेछन् ।

सम्बन्धित समाचार