क्रीकेटको अर्को ढोका: एसिया कप छनाैट खेल्दै नेपाल



खाँदबारी । आज देखि एसियन क्रीकेट काउन्सिलको आयोजनामा हुने एसीसी प्रीमियर कप प्रतियोगिता काठमाडौमा सुरु हुदैछ । काठमाडौको त्रिभुवन विश्वविद्यालय क्रीकेट मौदान र मुलपानी क्रीकेट मैदान गरी दुई स्थानमा छनौट प्रतियोगिता सञ्चालन हुनेछ । नेपालले आयोजना गर्न पाएको यो पछिल्लो सर्बाधिक ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।

आगामी सेप्टेम्बर महिनामा पाकिस्तानमा हुने एसिया कप क्रीकेटको अन्तिम छनौट प्रतियोगिताको रुपमा हुने प्रीमियर कपको लागि नेपालले रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिसकेको छ । टोलीमा ओपनर द्वाय कुशन भुर्तेल र आसिफ सेख सहित  कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतीश जिसी र ललित राजवंशी रहेका छन ।

कुल १० टोलीलाई दुई समुहमा बिभाजन गरिएको छ । बिजेता टोली एसिया कपको लागि छनौट हुनेछ । प्रतियोगिता बैशाख १८ गते सम्म १४ दिन चल्नेछ भने कुल २४ खेल हुनेछ ।

नेपालको तयारीको सम्बन्धमा कुनै कसुर बाँकि नराखेको क्यानका अध्यक्ष चतुर बहादुर चन्दले बताएका छन । प्रशिक्षक मोन्टी देशाईले प्रीमियर कप जित्नु एक मात्र लक्ष्य रहेको बताएका छन । कप्तान रोहित पौडेलले आफूहरु शारीरिक र मानसिक दुबै रुपमा पुर्ण तयारी रहेकोले खेल जित्नेमा ढुक्क भएको बताएका छन ।

आईसीसी क्रीकेटको १२ स्थायी राष्ट्र (टेस्ट म्याच मान्यता प्राप्त) मध्ये एसियामा मात्रै ५ राष्ट्र पर्दछन । यिनै  स्थायी राष्ट्र र थप एक एसोसिएट राष्ट्र सम्मिलित खेललाई एसिया कप भनिन्छ । त्यसैले  एसिया कप क्रीकेटलाई मिनि वर्ल्डकप पनि भनिन्छ । यो प्रतियोगीतामा भाग लिन पाउनु मात्र पनि नेपाल जस्तो एसोसिएट राष्ट्रको लागि ठूलो अवसर हो । त्यो अवसरको छ्नौटको लागि नेपाल आफैले यही आउदो बैशाख ५ गते देखि १८ गते सम्म आयोजना गर्ने १० राष्ट्र सम्मिलित प्रीमियर कप महत्वपूर्ण छ ।

एसिया कप प्रतियिगितामा नेपालको सहभागिताको संभावना निकै बलियो छ । यदि एसिया कपको लागि छनौट भए नेपालले एसियाका ५ महाशक्ति राष्ट्रहरु भारत, श्रीलंका, पाकिस्तान, बंगलादेश र अफगानिस्तानसँग खेल खेल्ने मौका पाउछ । त्यो संभावनालाई वास्तविकता दिन नेपालले पूरा गर्नु पर्ने प्रक्रिया बारे पहिला बुझ्न पर्छ ।

छ्नौट प्रक्रिया
एसियन क्रीकेट काउन्सिलले आयोजना गर्ने एसिया कपको १६ औं संस्करण आगमी सेप्टेम्बर २ तारिख देखि १७ तारिख सम्म पाकिस्तानको आयोजनामा युएईमा हुदैछ । यो प्रतियोगितामा जम्मा ६ राष्ट्रहरु सहभागी हुदैछन । त्यसमा ५ स्थायी  राष्ट्रको स्थान स्वतस् सुरक्षित हुन्छ भने बाँकी १ स्थानको लागि एसियाका १८ एसोसिएट राष्ट्रहरु मध्ये १० औं बरियता सम्मको राष्ट्रहरुबाट छ्नौट गरिन्छ । त्यस छ्नौटलाई प्रीमियर कप भनिन्छ ।

एसिया कपको समूह तालिका पनि सार्बजनिक भइसकेको छ । पहिलो समुहमा भारत, पाकिस्तान र प्रीमियर कपबाट आउने एक राष्ट्र हुनेछ । दोस्रो समुहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहनेछन । दुबै समुहबाट शीर्ष दुई राष्ट्र छ्नौट गरेर फाइनल खेल खेलाइन्छ ।

हाल नेपालले खेल्ने महत्त्वपूर्ण खेल भनेको प्रीमियर कप हो जुन हाम्रो आफ्नै होम ग्राण्डमा हुदैछ । यसको लागि समूह तालिका पनि सार्वजनिक भइसकेको छ । कुल १० एसोसिएट राष्ट्रहरुलाई  दुई समुहमा बिभाजन गरिएको छ । पहिलो समुहमा नेपाल, ओमन, साउदी अरब, कतार र मलेसिया  छन भने दोस्रो समुहमा युएई, बहराइन, कुवेत, सिंगापुर र हङकङ रहेका छन । यो खेलको विजेता टिम एसिया कपको लागि छनौट हुन्छ।

नेपालको सम्भावना
एसियन राष्ट्रहरु मध्ये एसोसिएट राष्ट्रबाट नेपाल पहिलो बरियतामा छ । प्रीमियर कप जित्ने नेपालको यो नै मुख्य आधार हो । हालै आईसीसीले सार्बजनिक गरेको टप २० बरियतामा नेपालको १५ औं स्थान छ । नेपाल भन्दा ओमन एक स्थान अगाडि थियो तर विश्वकप लिग २ बाट ओमन नेपाल भन्दा पछि परी विश्व बरियतामा १६ औं स्थानमा झरेको छ  । लिग २ मा नेपाल कुल ४० अंक सहित तेस्रो स्थानमा छ भने ओमन ३९ अंक सहित चौथो स्थानमा छ । नेपालको चिरपरिचित प्रतिद्वन्द्वी युएई भने विश्व बरियतामा ४ स्थान तल १९ औं स्थानमा छ ।

प्रीमियर कपमा नेपालको चुनौती भनेको ओमन नै हो । यी दुबै टिम ए समुहमा रहेका छन । प्रीमियर कपको सेमी फाइनलमा पुग्न नेपाल कम्तिमा समूह उपबिजेता हुनैपर्ने एक मात्र विकल्प छ । यसको लागि ओमन बाहेक साउदी अरब, मलेसिया र कतारलाई पनि जित्नै पर्छ । तुनलात्मक रुपमा यी तीन राष्ट्र नेपाल भन्दा कमजोर भएकोले ठूलो चुनौती नहुन सक्छ । समूह बिजेता बन्न समुहको पुरै खेलमा जित वा एक खेलमा बराबरी बाहेक अरु मौका नेपाललाई हुने छैन । अहिले सम्म नेपाल र ओमन ६ पटक एक दिवसीय खेलमा आमने सामने भइसकेका छन जसमा ओमनको ४ र नेपालको २ जीत रहेको छ ।

प्रीमियर कपमा नेपालको अर्को चुनौती भनेको युएई हो । दोस्रो समुहमा रहेको युएई समूह बिजेता हुने सम्भावना प्रबल छ । आफ्ना प्रतिद्वन्द्वीहरु सिंगापुर, हङकङ, बहराइन र कुवेत भन्दा ओमन बरियतामा पनि धेरै माथी छ । यदि फाइनलमा नेपाल र युएई भेट भयो भने कसले बाजी मार्न सक्छ भनेर भविष्यवाणी गर्न निकै कठिन छ । अहिले सम्म एक दिवसीय खेलमा नेपाल र युएई १३  पटक भेट भइसकेका छन जसमा नेपालले ७ पटक बाजी मारेको छ भने युएइले ६ पटक मात्रै जित हासिल गर्न सफल भएको छ ।

नेपाली क्रीकेटको अहिलेको अवस्था हेर्ने हो भने निकै सुधारात्मक छ । नेपालको सबभन्दा बलियो पक्ष भनेको आत्माविश्वास नै हो । हालै आईसीसी विश्वकपको ग्लोबल क्वालिफायरमा छ्नौट हुनु नेपालको आत्माविश्वासको मुख्य आधार हो । दोस्रो आधार भनेको टिममा आएको नयाँ नेतृत्व हो । बितेको तीन महिनामा नयाँ टिम क्याप्टेन र टिम कोचको आगमन भएको छ जसले टिम स्पिरिटमा गुणात्मक वृद्धि भएको छ ।

अहिले नेपाली क्रीकेट टिम वन मेन आर्मीको फर्मेसनमा छैन । एक जना मात्रले खेल धान्न पर्ने पुरानो रोग अहिले हटेर गएको छ । ब्याटिङ र बलिङ दुबै लाइनमा सबै खेलाडीहरु आफैमा आत्मनिर्भर छन । उनीहरुलाई दिइने जिम्मेवारी पुर्ण बहन गर्न सक्ने हैसियतमा छन । फागुन २ गते लिग २ को अन्तिम खेल जिते पश्चात् प्रशिक्षक मोन्टी देशाईले पत्रकार सम्मेलनमा भनेका थिए, ‘नेपाली खेलाडीमा अदभुत क्षमता छ ।’ उनको यो भनाइ धेरै हदसम्म सत्यताको नजिक छ । लिग २ को अन्तिम १२ खेल मध्ये ११ खेल नेपाल जित्नु यसको ज्वलन्त उदाहरण हो ।

एसिया कपले दिने अवसर
यदि प्रीमियर कप जितेर नेपाल एसिया कपमा पुग्यो भने त्यो निकै महत्त्वपूर्ण अवसर हुनेछ । पहिलो अवसर त विश्व नम्बर एक बरियताको भारत र पाँचौ बरियताको पाकिस्तानसँग पहिलो राउन्डमै आमने सामने हुने मौका मिल्नेछ । यी दुई विश्व च्याम्पियनसँग एक दिवसीय खेल खेल्न पाउनु आफैमा इज्जत र प्रतिष्ठाक सवाल  हो । उनीहरुसँगको हारजीत महत्त्वपूर्ण कुरा होइन । उनीहरुसँग प्रत्यक्ष रुपमा आमने सामने हुन पाउँदा धेरै कुरा सिक्न सकिन्छ, त्यो चाहिँ महत्त्वपूर्ण कुरा हो ।

दोस्रो अवसर भनेको टेस्ट मान्यताको लागि ढोका खोल्न सकिने अवस्थाको सृजना गर्नु हो । नेपालसँगै क्रीकेट खेलेको अफगानिस्तान आईसीसीको स्थायी राष्ट्र भइसकेको छ । अफगानिस्तान अहिलेसम्म एसिया कपमा ३ पटक (सन २०१४, २०१८ र २०२२) सहभागी भइसकेको छ ।  उसले सन २०१८ मा टेस्ट मान्यता पाउनुमा एसिया कप खेलको अनुभव पनि एक कारण थियो ।

नेपालको लागि पनि यो संभावना ज्यादै नजिक छ । एसिया कप खेलेको राष्ट्रलाई अनुभव र क्षमताको आधारमा टेस्ट मान्यता दिलाउन सहयोग पुग्नेछ । प्रशिक्षक मोन्टी देशाई त यस मामिला धेरै आसावादी छन । उनको भनाइ अनुसार त भारतमा हुने रणजी ट्रफीमा खेल्न पाए नेपाललाई ४ वर्ष भित्र टेस्ट मन्यता दिलाउन सकिने बताउछन । जे होस एसिया कपले नेपाललाई अन्तर्राष्ट्रिय क्रीकेटको माथिल्लो प्लेट फर्ममा पुग्न मद्दत पुग्छ । यसले आईसीसीको स्थायी सदस्य बन्नमा सहयोगी भुमिका खेल्न सक्छ ।

सम्बन्धित समाचार