खाँदबारी । ४७ दिनदेखि आन्दोलनरत अरुण तेश्रोको विद्युत गृह प्रवेश मार्गका मुआब्जा पिडितहरुले सडकमा नै दशैं मनाएका छन् । मुआब्जा रकमको माग गर्दै सडकको प्रवेशद्वार छ्याङ्कुटीमा बुधबार सामुहिक रुपमा दशैं मनाएका हुन् ।
सरकारले निर्धारण गरेको रकम लामो समयसम्म पनि नपाएपछि गत भदौ १६ गतेदेखि स्थानीयले प्रवेश मार्ग बन्द गरेका हुन् । दशै भित्रिसक्दासम्म पनि मुआब्जा रकम सरकारले नदिएपछि सामुहिक रुपमा सडकमा नै दशै मनाएका हुन् । उनीहरुले सामुहिक खानपान तथा नाँचगान सहितको कार्यक्रम आयोजना गरि दशैं मनाउन सुरु गरेका हुन् ।
कार्यक्रम चिचिला गाउँपालिका अध्यक्ष पासाङ नुर्वु शेर्पाको नेतृत्वमा जनप्रतिनीधिहरुको पनि सहभागीता रहेको थियो । पालिका उपाध्यक्ष मनकला राई, वडा नम्बर १ का अध्यक्ष पूर्णकुमार राई, वडा नम्बर २ का अध्यक्ष दिनेश राई, वडा नम्बर ४ का अध्यक्ष बालकुमार तामाङ लगायतका जनप्रतिनीधिहरुको उपस्थिती रहेको थियो ।
मुआब्जा पिडितहरुको आन्दोलनलाई सहयोगको लागि पालिका अध्यक्ष, उपाध्यक्ष र पाँच वटै वडा अध्यक्षहरुले पचास हजार रुपैयाँ नगद सहयोग समेत गरेका छन् । त्यस्तै अन्य जनप्रतिनीधिहरुले समेत सहयोग गर्दै आएका छन् । पिडितहरुको आन्दोलनमा पुर्ण साथ र समर्थन रहेको भन्दै जनप्रतिनीधिहरुले आन्दोलनको नेतृत्वहरुलाई फुलमाला लगाईदिएर हौसला समेत प्रदान गरेका छन् ।
सङ्खुवासभामा निर्माणाधिन ९ सय मेगावाट क्षमताको अरुण तेश्रो जलविद्युत परियोजनाको विद्युत गृह क्षेत्र प्रवेश मार्ग अनिश्चित कालका लागि बन्द गरिएको हो । प्रवेश मार्ग (सडक) निर्माण गर्दा जग्गा धनीले पाउनु पर्ने मुआब्जा नपाएको भन्दै स्थानीयले सडक बन्द गरेका हुन् ।
आफुहरुले पाउनु पर्ने जग्गाको मुआब्जा माग गर्दै पटक पटक आन्दोलन गर्दा पनि सरकारले बेवास्ता गरेको भन्दै यस पटक निर्णायक आन्दोलन भईरहेको मुआब्जा संघर्ष समितिका केन्द्रीय अध्यक्ष जनीकुमार राईले बताउनुभयो । यस अघिको आन्दोलनमा विभिन्न आश्वासन दिएर आन्दोलन रोकिए पनि माग पुरा नभएकोले यस पटक खातामा रकम नआएसम्म आन्दोलन नछोड्ने उहाँले स्पष्ट पार्नुभयो ।
दशैं सकिदासम्ममा मुआब्जा रकम नदिए बाँध निर्माण स्थल फ्याक्सिन्दा दोभान जाने सडक पनि बन्द गर्ने तयारी भईरहेको राईले बताउनुभयो । हाल अरुण तेश्रोको विद्युत गृह जाने निर्माण सामग्री र मजदुर बोकेको सवारी साधन ठप्प गरिएको छ ।
अरुण तेश्रो प्रवेश मार्ग अन्तर्गत छ्याङ्कुटीदेखि केराबारीसम्म ४ सय ५४ रोपनी जग्गाको मुआब्जा प्राप्त गर्न बाँकी रहेको छ । उक्त मुआब्जाको माग गर्दै विगत ७ बर्षदेखि स्थानीय आन्दोलित हुँदै आएका छन् । अरुण प्रवेश मार्गमा २०४५ सालमा अरुण तेश्रो सडकको प्रयोजनको लागि मुआब्जा वितरण गरिएको थियो । त्यस बेला विश्व बैंकको लगानीमा अरुण तेश्रो निर्माण गरिने भएपछि उक्त बैंककै सहयोगमा मुआब्जा वितरण गरिएको थियो ।
उक्त जग्गाको २०६६ सालमा लगतकट्टा गर्दा सडकको ३० मिटर दाँयाबायाँ काटेको थियो । तर मुआब्जा पाएकाहरुले पनि १५ मिटरको मात्र प्राप्त गरेका थिए । त्यस बाहेक थुप्रै ठाउँहरुमा सडकको रुट परिवर्तन भई मुआब्जा नपाएकाहरुको पनि लगतकट्टा गरि सडक विस्तार गरिएको थियो ।
यो मुआब्जा बिवाद समाधानका लागि सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरेको संयोजकत्वमा अध्ययन समिति गठन गरि उक्त समितिको प्रतिवेदनको आधारमा लालपुर्जा भएकै ४ सय ५४ रोपनी जग्गाको मुआब्जा दिनु पर्ने मन्त्रीपरिषदले निर्णय गरेको थियो । सो पछि मुआब्जा निर्धारण समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले गत बैशाख २६ गते मुआब्जा दर निर्धारण गरेको थियो ।
प्रति रोपनी ११ लाख ७५ हजार रुपैयाँ मुआब्जा दर तोकिए पनि रकम उपलब्ध गराउने विषयमा सरकारले चासो नदिएको भन्दै पुनः आन्दोलन सुरु गरेका हुन् ।
प्रतिक्रिया