बुझेनन् बोहोराले परिवारका शव



मुगु। छायानाथ रारा नगरपालिका–६ मुन्दुगाउँमा श्रीमतीसहित तीन सन्तान गुमाएका दीपक बोहोराले हत्यामा संलग्न पक्राउ परी कारबाही नभएसम्म आफूले शव नबुझ्ने बताएका छन् । आइतबार दिउँसो मुगु सदरमुकाम गमगढीस्थित जिल्ला अस्पताल पुगेर फर्किएका उनले चारवटै शवको पोस्टमार्टम सकिए पनि आफ्नो परिवारका सदस्यको हत्याराबारे सत्यतथ्य पत्ता नलागेर दोषीलाई कारबाहीको दायरामा नल्याएसम्म शव नबुझ्ने जानकारी दिए ।

शुक्रबार मुन्दुगाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षीय छोरा मनोज बोहोरा, आठ महिनाका छोरा रहर बोहोरा र आठ वर्षीया छोरी अप्सरा बोहोराको शव घरभित्रै फेला परेको थियो । उनीहरू धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको अवस्थामा भेटिएका थिए ।

सामूहिक हत्या घटनाको विषयमा विभिन्न कोणबाट अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाको भनाइ छ । यस विषयमा प्रमाण जुटाएर मात्रै सार्वजनिक गरिनेसमेत उनले बताए । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डिआइजी) भीमप्रसाद ढकाल घटनाको अनुसन्धानमा भएको प्रगति बुझ्न आइतबार घटनास्थल पुगेका छन् ।

श्रीदेवी तीन छोराछोरीसहित ७ कात्तिकमा दसैँको टीका थाप्न माइती गाउँ कोटिल्ला गएकी थिइन् । उनी ८ गते बेलुका नै घर फर्किएकी थिइन् । सोही राति सामूहिक हत्या गरिएको हुन सक्ने प्रहरीले जनाएको छ । अनुसन्धानका लागि सुर्खेतबाट थप दुई सुरक्षा टोली तालिम प्राप्त कुकुरसहित मुगु पुगेको छ ।

 

सम्बन्धित समाचार