पाँचखपन नगरपालिका अब सुकुम्बासी विहिन, २६ परिवारलाई बाँडियाे लालपुर्जा



भुमिहिन बृद्धालाई जग्गाधनी लालपुर्जा दिनुहुँदै साँसद खड्का ।

खाँदबारी । सङ्खुवासभाको पाँचखपन नगरपालिकाका २६ सुकुम्बासी परिवारले जग्गा धनी लालपुर्जा पाएका छन् । राष्ट्रिय भुमी आयोग सङ्खुवासभाको सहजीकरणमा पाँचखपन नगरपालिकाले भुमीहिन दलित तथा सुकुम्बासीहरुलाई जग्गा उपलब्ध गराएको हो ।

राष्ट्रिय भुमी आयोग सङ्खुवासभाका अध्यक्ष शंकरमान कँडेलको अध्यक्षता तथा संघीय सांसद दीपक खड्काको उपस्थितिमा आयोजित एक कार्यक्रममा जग्गा धनी लालपुर्जा वितरण गरिएको हो । भुमिहिन तथा सुकुम्बासी छनौटको विभिन्न चरणहरु पार गरेर उनीहरुलाई जग्गा उपलब्ध गराईएको पाँचखपन नगरपालिकाका प्रमुख विपिन राईले जानकारी दिनुभयो ।

नगर कार्यपालिकाको बैठकले २८ जनाको नाम सिफारिस गरेर पठाएकोमा २ जनाको बिवरण माथी थप अध्ययन गर्नु पर्ने भएकोले तत्काल २६ जनालाई मात्र लालपुर्जा वितरण गरिएको नगरप्रमुख राईले जानकारी दिनुभयो । बाँकी २ परिवारले पनि जग्गा पाउने वा नपाउने बारेमा छिट्टै टुङ्गो लगाईने नगर प्रमुख राईले बताउनुभयो ।

सुकुम्बासीहरुलाई पाँचखपन नगरपालिकाको केन्द्रमा रहेको सरकारी जग्गा उपलब्ध गराईएको हो । पाँचखपन नगरपालिकाको वाना बजारदेखि सभापोखरी गाउँपालिका जाने मुख्य सडक किनारको जग्गा उनीहरुलाई उपलब्ध गराईएको हो । उनीहरुले पाएको जग्गा सम्याएर चाँडै घर निर्माण गर्ने प्रकृया सुरु गरिने गाउँपालिकाले जनाएको छ ।

घर निर्माण गर्नको लागि घरेडी सम्याउने र घर निर्माणको लागि समेत नगरपालिकाले सहयोग गर्ने नगर प्रमुख राईले प्रतिवद्धता जनाउनुभयो । ‘ब्यापार ब्यावसाय गरेर पनि जीविका चलाउन सकोस भनेर बजार क्षेत्रको मुख्य सडक किनारको जग्गा दिएका छौँ, उहाँहरुको घर निर्माण गरि स्वरोजगार बन्न पनि पालिकाले सहयोग गर्छ’, नगर प्रमुख राईले भन्नुभयो ।

भुमिहिन तथा सुकुम्बासीहरु यस अघि आफन्त तथा गाउँलेहरुको जमिनमा आश्रय लिएर बस्दै आएका थिए । अहिले भने उनीहरु करेसाबारी सहित एक घर अट्ने जमिनको मालिक बनेका छन् । यसरी प्राप्त भएको जमिन कम्तिमा १० बर्षसम्म विक्रि गर्न नपाउने र त्यसपछि पनि भुमिहिन हुने गरि बेच्न नपाउने ब्यवस्था गरिएको राष्ट्रिय भुमी आयोग सङ्खुवासभाका अध्यक्ष सङ्करमान कँडेलले जानकारी दिनुभयो । जिल्लाको अन्य ९ स्थानीय तहहरुमा पनि भुमिहिन तथा सुकुम्बासीहरुको लगत सङ्कलन भईरहेको उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार