संखुवासभामा २२० केभी वसन्तपुर सबस्टेसन सञ्चालनमा



काठमाडौँ । कोशी कोरिडोर २२० किलोभोल्ट (केभी) प्रसारण लाइन आयोजना अन्तर्गत सङ्खुवासभाको धर्मदेवी नगरपालिकामा निर्माण गरिएको वसन्तपुर सबस्टेसन सञ्चालनमा आएको छ ।

नेपाल विद्युत् प्राधिकरणले समुद्री सतहबाट दुई हजार ४५० मि। उचाइमा निर्माण गरेको २२०/१३२/३३ केभी क्षमताको वसन्तपुर सबस्टेसन आइतबार चार्ज गरी सञ्चालनमा ल्याएको छ । आयोजना अन्तर्गत नै सुनसरीको इनरुवा र सङ्खुवासभाको तुम्लिङटार तथा बानेश्वर २२० केभी सबस्टेसन गत वर्षको साउनबाटै सञ्चालित छन् । सबस्टेसनहरू निर्माणका लागि भारतीय कम्पनी एल एन्ड टीसँग २०७५ असारमा दुई करोड ६१ लाख अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कोशी प्रदेशका ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा र भोजपुर जिल्लामा निजी क्षेत्रले निर्माण गर्ने र गरिरहेका जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न र वितरणका लागि मेरुदण्डका रूपमा पूर्वाधार तयार भएको बताउनुभयो ।

“प्रसारण लाइन र सबस्टेसन तयार भयो तर जलविद्युत् आयोजनाहरू निर्माण हुन नसक्दा २२० केभी लाइन कम क्षमतामा चलाउनुपर्ने अवस्था छ,” कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, “कोशी प्रदेशका पहाडी जिल्लामा उत्पादित विद्युत् इनरुवा सबस्टेसनमार्फत मोरङ र सुनसरी जिल्ला आपूर्ति गरिने हुँदा त्यस क्षेत्रमा विद्युत् आपूर्तिका लागि उत्पादन स्रोत भएको छ, जसले गर्दा भोल्टेज सुधार भई विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुने छ ।”

वसन्तपुर सबस्टेसनमा तुम्लिङटार र ताप्लेजुङको ढुङ्गेसाँघु सबस्टेसनबाट विद्युत् आउने छ । वसन्तपुरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकास्थित इनरुवा सबस्टेसनसम्मको २२० केभी डबल सर्किट टावर निर्माण गरी टावरको एकतर्फ मात्र तार तानेर लाइन सञ्चालनमा ल्याइएको छ ।

वसन्तपुरबाट बानेश्वर हुँदै तुम्लिङटारसम्म करिब ३० किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइनको एउटा सर्किट निर्माण सम्पन्न भइसकेको छ । इनरुवा–वसन्तपुर–तुम्लिङटार प्रसारण लाइनको लम्बाइ एक सय पाँच किलोमिटर छ । डबल सर्किट टावर निर्माण गरिएको छ भने हाल सिङ्गल सर्किट तार मात्र तानी लाइन सञ्चालनमा ल्याइएको छ । नेपाल सरकारको लगानी र भारत सरकारको निर्यात आयात ९एक्जिम० बैङ्कको सहुलितपूर्ण ऋणमा कोशी कोरिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत तुम्लिङटार, वसन्तपुर र बानेश्वरमा सबस्टेसन र प्रसारण लाइनको निर्माण गरिएको हो ।

अरुण तथा तमोर नदी र त्यसका सहायक खोलानालामा निर्माण हुने र भइरहेका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् कोशी कोरिडोर २२० केभी प्रसारण लाइनमार्फत इनरुवा सबस्टेसनमा जोडिने छ । कोशी प्रदेशका भोजपुर, सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न कोशी कोरिडोरको निर्माण गरिएको हो ।

कोशी कोरिडोर अन्तर्गत वसन्तपुर–ढुङ्गेसाँघु ९ताप्लेजुङ० खण्ड प्रसारण लाइन र ढुङ्गेसाँघुमा १३२ केभी सबस्टेसन निर्माणाधीन छन् । करिब ३४ किलोमिटर डबल सर्किट प्रसारण लाइनमा पर्ने १२८ वटा टावरमध्ये छ वटाको मात्र निर्माण बाँकी छ । एउटा सर्किटको २६ किलोमिटर तार तानिएको प्रसारण लाइन आगामी माघभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।

वसन्तपुर–ढुङ्गेसाँघु २२० प्रसारण लाइनको अर्को सर्किट निर्माणका लागि ठेक्का सम्झौता भई काम सुरु भइसकेको छ । नेपाल सरकार र प्राधिकरणको लगानीमा भइरहेको उक्त काम आगामी फागुनभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । ढुङ्गेसाँघु सबस्टेसनको निर्माण ९५ प्रतिशत सकिएको छ । उक्त प्रसारण लाइनमा ताप्लेजुङमा निर्माणको अन्तिम चरणमा रहेका ७३र७३ मेगावाटका मध्य तमोर र मध्य मेवाखोला जलविद्युत् आयोजना जोडिने छन् ।

कोशी कोरिडोर प्रसारण लाइन आयोजनामार्फत तुम्लिङटारदेखि वसन्तपुरसम्म करिब एक हजार मेगावाट, ढुङ्गेसाँघुदेखि वसन्तपुरसम्म करिब एक हजार मेगावाट र वसन्तपुरदेखि इनरुवासम्म करिब दुई हजार मेगावाट विद्युत् प्रसारण गर्न सकिन्छ । कोशी कोरिडोर नेपालको हालसम्मको सबैभन्दा लामो दुरीको २२० केभी प्रसारण लाइन हो ।

 

सम्बन्धित समाचार