पहिलो पटक भोटखोला पुग्यो गाडी



सङ्खुवासभा । सङ्खुवासभाको सवैभन्दा दुर्गम मानिएको भोटखोला गाउँपालिका गाडी पुगेको छ । जिल्ला सदरमुकाम खाँदबारीबाट हिडेको गाडी भोटखोलाको लिङ्गम पुगेको हो ।

उत्तर दक्षिण कोशी राजमार्ग अन्तर्गतको कच्चि सडक पार गरेर ल्याण्ड रोभर गाडी सनिबार भोटखोलाको लिङ्गम पुगेको हो । बा ३ च १६६३ नबरको गाडी चालक बिशाल खड्काले पुर्याएको हो । करिव ५ बर्ष अघि नै भोटखोला जाने सडकको ट्रयाक खोलिए पनि बरुण नदिमा पुल नभएको तथा अन्य स्थानमा सडक स्तर उन्नती नगरिएकोले सवारी साधन जान सकेको थिएन ।

हाल बरुण नदिमा पानीको सतह घटेको र ठाउँठाउँमा सडक मर्मत गरिएपछि गाडी भोटखोला पुर्याईएको हो । यस अघि ट्रयाक मात्र खोलिएकोले थुप्रै अप्ठ्यारो ठाउँमा मर्मत गर्दै जेनतेन लिङ्गमसम्म गाडी पुर्याईएको सवारी चालक खड्काले बताउनुभयो । ठाउँठाउँको अप्ठ्यारो बाटो मर्मत गरिए खाँदबारीदेखि भोटखोला सजिलै यातायात सञ्चालन गर्न सकिने समेत खड्काले बताउनुभयो ।

भोटखोलामा यात्रु बाहक गाडी पुगेपछि स्थानीयले खादा र माला लगाएर स्वागत गरेका छन् । भोटखोलाको केन्द्र हटिया हुँदै लिङ्गमसम्म गाडी पुर्याईएको खुसीयालीमा ठाउँठाउँमा स्थानीयले सवारी चालक र यात्रुहरुलाई स्वागत गरेका थिए । आफ्नो गाउँमा पहिलो पटक गाडी ल्याईपुराउने सवारी चालक र यात्रुहरुलाई लिङ्गम आमा समुहले पनि खादा लगाएर स्वागत गरेका हुन् ।

उत्तर दक्षिण कोशी राजमार्ग अन्तर्गत भोटखोला गाउँपालिका जोड्ने सडक बहुप्रतिक्षित भए पनि हालसम्म यातायात सञ्चालन हुन सकेको थिएन । यस अघिसम्म मकालु गाउँपालिका र भोटखोला गाउँपालिकाको सिमा क्षेत्र बरुण दोभान (भोटखोला गाउँपालिकाको भुभाग) सम्म मात्र यातायात सञ्चालन गरिएको थियो । त्यस भन्दा माथिको खोला नालाहरुमा पुल निर्माण हुन नसकेपछि सडक प्रयोग विहिन थियो ।

हाल बरुण नदिमा मोटरेबल पुल निर्माण कार्य भईरहेको छ भने भोटखोलाको च्याम्ताङदेखि चट्टान काटेर ट्रयाक खोल्ने कार्य भईरहेको छ । नेपाली सेनाले ठेक्का लिएर गरिरहेको उक्त कार्य सम्पन्न पश्चात मात्र किमाथाङ्का नाकासम्म सडक जोडिनेछ । रानीदेखि किमाथाङ्का नाकासम्मको यस उत्तर दक्षिण कोशी राजमार्ग भारत, नेपाल र चिन जोड्ने सवैभन्दा छोटो दुरीको रुपमा लिईन्छ ।

सम्बन्धित समाचार