पूर्वमन्त्री तथा साँसद खड्का सवार गाडीलाई धनकुटामा टिपरले दियाे ठक्कर



धनकुटा । पूर्व राज्यमन्त्री एवं संखुवासभाका प्रतिनिधि सभा सदस्य दीपक खड्का सवार गाडीलाई हिजाे साँझ धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कोलबोटेमा टिपरले ठक्कर दिएको छ । दुर्घटनामा टिपरका सहचालक घाइते भएका छन् भने टिपर पल्टिएर सडक ढाक्दा कोशी राजमार्गको भेडेटार–धनकुटा सडकखण्ड अवरुद्ध भएको छ ।

विराटनगरतर्फ जाँदै गरेका सांसद खड्का सवार प्रदेश १–०२–००२ च ३५४५ नम्बरको स्कारपियो गाडीलाई विपरित दिसाबाट आउँदै गरेको प्रदेश २–०३–००१ क १५२१ नम्बरको टिपरले साँझ करिब ७ः१५ बजे ठक्कर दिएको हो ।

टिपरको ठक्करबाट सांसद खड्का सवार गाडीको पछाडिको भागमा क्षति पुगेपनि सांसदसहित गाडीमा सवार सबै जना सकुशल रहेको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिए । ‘गाडी ठोक्किँदा माननीय ज्यूको गाडीको पछाडिको भागमा क्षति पुगेको छ । गाडी घटनास्थलमै छ । उहाँहरूलाई हामीले प्रहरीको गाडीमा राखेर पठाएका छौं,’ डीएसपी महर्जनले भने ।

दुर्घटनामा टिपरका सहचालक सिरहाका दिपेन्द्र कुसियत घाइते भएका हुन् । उनलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

सम्बन्धित समाचार