घर र गोठमा आगलागी



खोटाङ। खोटाङको खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारमा आगलागीबाट एउटा घर र दुईवटा गोठ पूर्णरुपमा जलेर नष्ट भएको छ । खोटाङ बजार पुरानो गाउँस्थित तुलसीराम चौलागाईंको गोठबाट सुरु भएको आगोले गोठसहित घर जलेर नष्ट भएको हो ।

मङ्गलबार राति करिब ८ः१५ को समयमा सुरु भएको आगो राति १२ बजे मात्र नियन्त्रणमा आएको थियो । गोठमा परालको कुनिउँ भएकाले आगो नियन्त्रण गर्न समस्या भएको इलाका प्रहरी कार्यालय खोटाङ बजारका प्रहरी निरीक्षक कृष्णदेवप्रसाद शाहले बताउनुभयो । आगो नियन्त्रणमा लिन नसक्दा माटो र ढुङ्गाले बनेको २ तले घर र २ वटा गोठ पूर्णरुपमा जलेर नष्ट भएको उहाँको भनाइ छ ।

घरसँगै अन्नपात, भाँडाकुँडा, लत्ताकपडा, नगद सबै जलेर नष्ट भएको छ । गोठमा राखिएको ४५ वटा बाख्रा पनि आगोले जलेर मरेका छन् । स्थानीय र प्रहरीले गोठमै बाँधिएको एउटा भैँसी र एउटा पाडो भने बचाउन सफल भएका छन् । भैँसीको अर्को पाडोे जलेर मरेको प्रहरी निरीक्षक शाहले बताउनुभयो ।

आगलागीबाट चौलागाईंको करिब २२ लाख रुपियाँ जतिको क्षति भएको प्रहरीको भनाइ छ । आगो कसैले लगाइदिएको प्रहरी र स्थानीयको अनुमान छ । आशङ्कामा एक जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरी निरीक्षक शाहले बताउनुभयो ।

घर जलेर नष्ट भएपछि चौलागाईंको परिवार छिमेकीको घरमा बसिरहेको खोटाङ बजारका वडाध्यक्ष शिवप्रसाद फुँयालले बताउनुभयो । ‘अहिले उहाँहरु छिमेकीको घरमा बसिरहनुभएको छ, घरमा एकजना बच्चा मात्र भएको बेला अर्कैले आगो लगाइदिएछ, बुवाआमा बेँसी खेतबाट काम गरेर घर आइनपुग्दै आगो लगाइएको रहेछ ।’

फुँयालले भन्नुभयो, ‘‘गाउँकै सबैभन्दा राम्रो कृषकको हालसम्मको मिहिनेत जलेर नष्ट भएको छ, उहाँको करिब डेढ सय मुरी त अन्न मात्रै जलेको हुनुपर्छ, नगद दुई लाख पनि जलेको छ ।

 

सम्बन्धित समाचार