राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको तयारी धमाधम



प्रतियोगिताबारे आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै मेदिनी घिमिरे । तस्विरः ध्यान कुलुङ

खाँदबारी । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता यस बर्ष सङ्खुवासभामा सञ्चालन हुने भएको छ । जिल्ला भलिबल संघ सङ्खुवासभाको संयोजनमा फागुन १५ बाट १९ गतेसम्म खाँदबारी रंगशालामा प्रतियोगिता सञ्चालन हुने भएको हो ।

प्रतियोगिताको बारेमा बुधबार खेलमैदानमा पत्रकार सम्मेलन गरि जानकारी गराईएको हो । प्रतियोगितामा सात वटै प्रदेश टिम र विभागीय टिमहरु त्रिभुवन आर्मी क्लव, नेपाल पुलिस क्लव र नेपाल एपिएफ् क्लव गरि १० टिमको सहभागीता रहने जिल्ला भलिबल संघ सङ्खुवासभाका अध्यक्ष मेदिनी घिमिरेले जानकारी दिनुभयो । प्रतियोगिताको समन्वय तथा सहकार्य कोशी प्रदेश भलिबल संघले गर्ने घिमिरेले जानकारी दिनुभयो ।

खेल सञ्चालनको लागि करिव ६० प्रतिशत तयारी पुरा भएको प्रतियोगिताको संयोजक प्रविन श्रेष्ठले जानकारी दिनुभयो । हाल आर्थिक ब्यावस्थापन र खेल मैदान तयारीको कार्य धमाधम भईरहेको संयोजक श्रेष्ठले जानकारी दिनुभयो । खेल मैदानमा म्याट विछाउन माटोको सतह मिलाउने, अस्थायी प्याराफिट निर्माण गर्ने लगायतका कार्यहरु भईरहेको श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगिता सञ्चालनको लागि करिव ४६ लाख रुपैयाँ आवश्यक रहेको आर्थिक संयोजक तिर्थराज पन्तले जानकारी दिनुभयो । त्यस मध्ये कोशी प्रदेश खेलकुद विकास बोर्डले २० लाख रुपैयाँ उपलब्ध गराउने र बाँकी भने जिल्ला भलिबल संघ संखुवासभाले ब्यवस्थापन गर्नु पर्ने दायित्व रहेको आर्थिक संयोजक पन्तले बताउनुभयो । आवश्यक रकम स्थानीय तहहरु लगायत विभिन्न दाताहरुबाट सङ्कलन भईरहेको उहाँले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेताले नगद ३ लाख, उपविजेताले १ लाख ५० हजार, तेश्रो हुनेले ५० हजार रुपैयाँ र चौँथो हुनेले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । आयोजनाको पुरस्कार रकम भन्दा पनि अन्य ब्यवस्थापनमा बढि खर्च हुने पन्तले जानकारी दिनुभयो । प्रतियोगिताको आगन्तुक खेलाडीहरु तथा ब्यवस्थापकहरुलाई विभिन्न सुविधाहरु दिनु पर्ने भएकोले ब्यवस्थापनमा बढि खर्च हुने उहाँले जानकारी दिनुभयो ।

पुर्वी पहाडी जिल्लामा नै यो स्तरको प्रतियोगिता पहिलो पटक भएकोले आम नागरिकहरु उत्साहित रहेको जिल्ला स्थित प्रतियोगिता संयोजक जिल्ला भलिबल संघ सङ्खुवासभाले जनाएको छ । यो ऐतिहासिक आयोजना भएकोले सवै पक्षबाट सहयोग समेत जुटिरहेको जिल्ला भलिबल संघ सङ्खुवासभाका अध्यक्ष मेदिनी घिमिरेले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार