खाँदबारीमा मनाईयाे विश्व मातृभाषा दिवस



खाँदबारी । खाँदबारी स्थित हिमालय माविको सेमिनार हलमा विश्व मातृभाषा दिवस विशेषा कार्यक्रम सम्पन्न भएकाे छ । दक्षिण एशियाली साहित्यिक सांस्कृतिक सङ्गठन (एफ्साकल) को आयोजनामा कार्यक्रम सम्पन्न भएकाे हाे ।

उक्त कार्यक्रम  संगठनका अध्यक्ष ताराबहादुर बुढाथोकीले संचालन गरेका थिए । हिमालय माध्यमिक विद्यालयका अध्यक्ष सेरबहादुर पराजुलीकाे अध्यक्षता तथा शिक्षक अविभावक संघ अध्यक्ष तथा संस्कृतिकर्मी सुनिता गुरुङकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रममा नेपाली मातृभाषीको तर्फबाट अध्यक्ष बुढाथोकीले कविता बाचन गरेर कार्यक्रम उद्घाटन भएको घोषणा गरे । कवि कृष्ण बहादुर चापागाईं र कवि सुलोचना शर्माले नेपालीमा कविता बाचन गरेका थिए। तामाङ भाषामा डिकमाया तामाङ्, कुलुङ भाषाको कविता सङ्गम कुलुङले, लोहोरुङ भाषाको कविता गणेश केत्रा राई, शेर्पाको गित सोनाबुटी शेर्पाले, नेवारी भाषाको गित सीता शाक्यले प्रस्तुत गरेका थिए । त्यस्तै भोटे भाषाको गीत रिन्जीन भोटे र थुडोक भोटेले प्रस्तुत गरे । कार्यक्रमका बिचबिचमा सन्चालक बुढाथोकीले आफ्नै सङ्ग्रहबाट मगर भाषा, याम्फू भाषा, यख्खा भाषा, लिम्बु भाषाका कविता सुनाए । कार्यक्रममा १२ भाषाका कविता र गित प्रस्तुत भएका थिए ।

कार्यक्रममा नेपाल जनजाति महासंघका जिल्ला उपाध्यक्ष मित्र बहादुर गुरुङ्, जनजाति महासङ्घ पूर्व अध्यक्ष कृष्णप्रसाद तामाङ, शेर्पा सङ्घका प्रतिनिधि रिता शेर्पा, नेवादेय दवुका सदस्य उर्निला श्रेष्ठ, कुलुङ समुदायका लेखक भरत कुलुङ्, एफ्साकल सदस्य खगेश्वर घिमिरे, भोटे समाजका नेता थुदो भोटे लगायत चार दर्जन बढी बिद्यार्थीको उपस्थिति थियो ।

उपस्थित वक्ताहरुले वङ्गलादेशमा सम्पन्न दक्षिण एसियाली सांस्कृतिक संगठनको अध्यक्ष निर्वाचित भएकोमा ताराबहादुर बुढाथोकीलाई बधाइ दिदै गौरव ब्यक्त गरे । बङ्गाली भाषिक आन्दोलनको उत्प्रेरणाले राष्ट्रसंघीय युनेस्कोले सन् १९९९ मा घोषणा गरेको विश्व मातृभाषा दिवसका अवसरमा बङ्गलादेशले प्रदान गरेको भाषा साहित्य सिल्ड पनि बुढाथोकीलाई हस्तान्तरण गरिएको थियो।

सम्बन्धित समाचार