चैनपुरको पोखरी बजारमा स्थापना भयो राष्ट्रिय बाणिज्य बैँकको शाखा



खाँदबारी । नेपाल सरकारको पूर्ण स्वमित्व रहेको राष्ट्रिय बाणिज्य बैंकको नयाँ शाखा चैनपुर नगरपालिका ३ स्थीत पोखरी बजारमा उद्घाटन गरिएको छ । आईतबार एक कार्यक्रमको आयोजना गरि शाखाको उद्घाटन गरिएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठको अध्यक्षता तथा सर्वोच्च अदालतको न्यायाधीश हरि प्रसाद फुयालको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरि शाखाको उद्घाटन गरिएको हो । स्थानीय नागरिकहरु, राजनितिकर्मी, विद्यार्थीहरु लगायतको सहभागितामा पञ्चे बाजा सहितको टोलीबाट प्रभातफेरीको आयोजना गरिएको थियो ।

पोखरी बजारमा ६ बर्ष अघि राष्ट्रिय बाणिज्य बैँकको एक्टेन्सन काउन्टर स्थापना गरिएको थियो । उक्त काउण्टरको स्तर बृद्धि गरि शाखाको स्थापना गरिएको प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले जानकारी दिनुभयो । काउन्टर स्थापनाको समयमा नै पर्याप्त आधारहरु पुगे आगामी दिनमा शाखामा परिणत गर्ने प्रतिबद्धता अनुरुप यस पटक शाखा स्थापना गरिएको श्रेष्ठले जानकारी दिनुभयो ।

यस शाखाबाट साना लगानीकर्ताहरु मार्फत कृषी क्षेत्रमा लगानी गर्ने उद्देश्य रहेको समेत अधिकृत श्रेष्ठले जानकारी दिनुभयो । यस शाखा मार्फत यहाँका नागरिकहरुले बढि भन्दा बढि ऋण लिएर ब्यावसायी बन्न समेत श्रेष्ठले अनुरोध गर्नुभयो । बैक मार्फत प्रबाह गरिएको ऋण जनताकै भएकोले तोकिएकै समयमा तिर्नु पर्ने समेत श्रेष्ठले अनुरोध समेत गर्नुभयो ।

कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधिहरु, जनप्रतिनिधिहरु, सामाजिक अगुवाहरु, शिक्षक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमका बक्ताहरुले यहाँ बैंकको शाखा ल्याउने काममा योगदान दिनेहरु प्रति आभार ब्यक्त गरेका थिए ।

सम्बन्धित समाचार