शौचालय गएकी बालिकाको हत्यामा संलग्न पक्राउ



विराटनगर । मोरङको पथरीशनिश्चरेमा शौचालय गएकी बालिकाको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार हत्यामा संलग्न मोरङको ग्रामथान गाउँपालिका ४ का ३८ वर्षीय धीरेन चौधरीलाई पक्राउ गरिएको हो। हत्यापछि फरार बनेका उनलाई बेलबारीस्थित भाउन्नेको जंगलबाट पक्राउ गरिएको दाहालले बताए।

उनका अनुसार चौधरीले बालिकाको हत्या गर्नुको कारण खुल्न बाँकी छ। उनले घटनामा आफ्नो संलग्नता स्वीकार गरिसकेको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा प्रहरीले मंगलबार साँझ पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिने तयारी गरेको छ।

खोटाङको ऐँसेलुखर्क गाउँपालिका ६ सल्ले घर भएकी १५ वर्षीया ज्ञानमति थुलुङ राईको सोमबार राति निर्मम तरिकाले हत्या गरिएको थियो। ज्ञानमति पथरीशनिश्चरे नगरपालिका ७ लामा टोलीस्थित दाजु (मामाको छोरा) विनोद राईको घरमा २ वर्षदेखि बस्दै आएको खुलेको प्रहरीको भनाइ छ।

दाहालका अनुसार सुत्नुअघि शौचालय जाने क्रममा बसेकै घरको कम्पाउण्डमा राति १० बजेतिर चौधरीले धारिलो हतियार प्रहार गरेर बालिकाको वीभत्स तरिकाले हत्या गरेको पाइएको छ। ‘एकदमै वीभत्स अवस्थामा घरको परिसरमा शव भेटिएको छ,’ उनले भने, ‘घटनाको प्रकृति हेर्दा पछाडिबाट हतियार प्रहार भएको देखिन्छ। घटनासँग सम्बन्धित थप कुरा अनुसन्धानपछि खुल्छ।’

हतियार प्रहारबाट गर्धन, अनुहार र दाहिने पाखुरामा गहिरो चोट लागेको अवस्थामा ज्ञानमतिको शव फेला परेको जानकारी दाहालले दिए। ‘घर परिसरमै रहेको शौचालय जाने क्रममा बालिकामाथि हतियार प्रहार भएको भनिएको छ। चिच्याएको आवाज आएपछि हेर्दा बहिनीको ढुकढुकी मात्रै थियो भनेर दाजु विनोदले भनेका छन्,’ उनले भने, ‘दाजुले घटना थाहा पाएको केहीबेरमै उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटना हुँदा दाजु-भाउजू भने सुतिसकेको पाइएको उनको भनाइ छ। घटनाको अनुसन्धान र हत्यामा संलग्नलाई पक्राउ गर्न मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्की आफैं फिल्डमा खटिएका थिए। प्रहरीले घटनाको अनुसन्धानमा तालिम प्राप्त कुकुरको समेत प्रयोग गरेको थियो। डीएसपी दाहालले मिहिन ढंगले विभिन्न कोणबाट घटनाको अनुसन्धान सुरु गरिएको बताए। प्रहरीले घटनास्थलबाट उठाएर शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिसकेको छ।

 

सम्बन्धित समाचार