चिचिला गाउँपालिकाले गर्यो राष्ट्रियदेखि स्थानीय स्तरका खेलाडीलाई सम्मान



खाँदबारी । चिचिला गाउँपालिकाले राष्ट्रियदेखि स्थानीय स्तरसम्मका खेलाडीहरुलाई सम्मान गरेको छ । सोमबार गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरि उपाधि जित्ने राष्ट्रिय तथा स्थानीय खेलाडीहरुलाई सम्मान गरेको हो ।

गाउँपालिकाले चिचिला गाउँपालिका १ का सेपाकताक्रो खेलका राष्ट्रिय खेलाडी रोशन गुरुङ, हालै धरानमा सम्पन्न १६ बर्ष मुनिका १० किलोमिटर दौड (धरान रन) का विजेता तिलक राई र हालै सम्पन्न भएको जिल्ला स्तरीय राष्टपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा पदक जित्ने खेलाडीहरुलाई सम्मान गरिएको हो ।

दक्षिण एसियाली खेलकुदमा सेपाकताक्रो खेलमा राष्ट्रिय टिमबाट खेलेर उपविजेता बनेको गुरुङलाई गाउँपालिकाले ५० हजार रुपैयाँ नगद सहित सम्मान पत्र प्रदान गरेकाे छ । त्यस्तै धरान रन अण्डर १६ का विजेता राईलाई नगद १५ हजार रुपैयाँ र सम्मान पत्र प्रदान गरिएको छ ।

गत फागुन २० बाट जिल्ला सदरमुकाम खाँदबारीमा आयोजत राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सहभागी भई पदक जित्ने खेलाडीहरुलाई एक थान करुवा र सम्मान पत्रले सम्मान गरिएको छ । यस पटकको प्रतियोगितामा गाउँपालिकाले १६ वटा विधामा प्रतिष्पर्धा गरेको थियो । ४ रजत र ४ काश्य पदक जितेको थियो ।

खेलाडीहरुलाई गाउँपालिका  अध्यक्ष पासाङ नुर्वु शेर्पा, उपाध्यक्ष मनकला राई, चिचिला गाउँपालिकाका कार्यपालिका सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृत सन्ताेष राई, चिचिला खेलकुद विकास समितिका अध्यक्ष प्रदिप गुरुङ लगायतले सम्मान गरेका हुन् । उनीहरुले खेलकाे माध्ययमबाट चिचिला गाउँपालिकालाई समेत चिनाउन सफल भएकाेले सम्मान गरिएकाे अध्यक्ष शेर्पाले बताउनुभयाे । आगामी दिनमा पनि खेल क्षेत्रलाई निरन्तरता दिन हाैसला र प्रेरणा पुगाेस भनेर पनि खेलाडीहरुलाई सम्मान गरिएकाे अध्यक्ष शेर्पाले बताउनुभयाे ।

सम्बन्धित समाचार