सम्पन्न मिति अगावै निर्माण सम्पन्न गर्ने ब्यावसायी शेर्पालाई २३ लाख रुपैयाँ बोनस



खाँदबारी । पछिल्लो समय निर्माण कार्य समयमा नै सम्पन्न नहुने समस्या छ । तर संखुवासभाका निर्माण ब्यावसायी मिगुर शेर्पाले भने अधिकांश आयोजना निर्माण सम्पन्न अवधी अघि नै सम्पन्न गर्दै आएका छन् ।

उनले आफ्नो निर्माण कम्पनी अरुण बरुण निर्माण सेवा मार्फत निर्माण कार्य गर्दै आएका छन् । उनले हालै मात्र करिव ६ महिना अघि नै काम सम्पन्न गरे वापत २३ लाख रुपैयाँ बोनस समेत पाएको छ । सो कम्पनी मार्फत भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको भवन निर्माण सम्झौता भन्दा अघि नै सम्पन्न गरेपछि बोनस वापत २३ लाख रुपैयाँ प्राप्त गरेको हो ।

भवनको काम २०७९ बैशाख १६ मा सम्झौता गरेर २०८१ बैशाख १६ मा सम्पन्न हुनु पर्ने थियो । निर्माण कम्पनीले सम्झौता भन्दा ५ महिना २८ दिन अघि नै सम्पन्न गरेर हस्तान्तरण गरेको थियो । ३ करोड ९९ लाखमा ठेक्का आहृवान गरेको भवन निर्माणको काम अरुण बरुण निर्माण सेवा कम्पनीले २ करोड ९५ लाखमा नै निर्माण गर्ने गरी सम्झौता गरेको थियो ।

म्याद भन्दा अघिनै निर्माण कार्य सम्पन्न गरेबापत् निर्माण व्यवसायीलाई सम्झौता भन्दा बढी २३ लाख रुपैयाँ बोनसस्वरुप दिइएको पशु सेवा विज्ञ केन्द्रका प्रमुख हिमालय पोख्रेल जानकारी दिए ।

६ महिना अघिदेखि नयाँ भवनमा काम सुरु भएपनि उद्घाटन भने सोमबार गरिएको हो । सो भवनको सोमबार एक कार्यक्रमकाबीच कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीले नवर्निमित भवन उद्घाटन गरेका हुन् ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले संखुवासभा र भोजपुरमा सेवा प्रवाह गर्ने गरेको छ ।

सम्बन्धित समाचार