पोर्चुगलमा किरात समूदायले उभौली पर्व मनाए



लिस्बन । युरोपियन मुलुक पोर्चुगलमा किरात समूदायले आफ्नो समूदायको महान् चाड उभौली पर्व मनाएका छन् । किरात राई सोसाइटी अफ पोर्चुगलले सोमबार चण्डीपूर्णिमाको अवसरमा एक कार्यक्रम गर्दै पर्व मनाएको हो ।

लिस्बनको बेलाभिस्ता पार्कमा पूजारीले भूमी पूजा गरी शुरुवात गरेका थिए । जातीय पहिचान झल्काउने भेषभूषा र गहनामा सजिएका राई/राईनीहरुले मौलिक खानपीनका साथै ढोल र झ्याम्टा बजाउँदै साकेला गीत तथा नाच प्रस्तुत गरेका थिए । साकेलामा पाहुनाहरुले पनि नाचेर साथ दिएका थिए ।

सोसाइटीका अध्यक्ष दीपेश राईले विदेशमा रहेर पनि आफ्नो संस्कार, संस्कृति र रीतिरिवाजलाई संरक्षण गर्न यो पर्व मनाएको बताउनुभयो ।

पोर्चुगलका लागि नेपाली पर्यटन दूत रमेशराज बाँस्तोला, नेपाली जनसम्पर्क समिति, पोर्चुगलका अध्यक्ष युवराज पन्थी, गैरआवासीय नेपाली संघ, पोर्चुगलका वरिष्ठ उपाध्यक्ष दीपा काफ्ले, सुदूरपश्चिमेली नेपाली समाज,पोर्चुगलका अध्यक्ष दीपेशविक्रम बिष्टलगायतको उपस्थिति रहेको कार्यक्रममा विदेशी नागरिकहरुसमेत पाहुनाका रुपमा आमन्त्रित भएका थिए ।

उभौली पर्व वसन्त ऋतुमा वालीनाली राम्रो होस्, सबैमा शान्ति सुख रहोस्, दैवी प्रकोप वा विपत्तीहरुको सामना गर्न नपरोस् भनेर प्रकृतिको पूजा गर्छन् । वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभोतिर लाग्ने किरात समूदायमा विश्वास रहेको छ ।

सम्बन्धित समाचार