लिस्बन । पोर्चुगलमा जारी २१औं विश्व केम्पो च्याम्पियनशिपमा नेपालले पहिलोपटक पदक जितेको छ । अन्तर्राष्ट्रिय केम्पो फेडेरेसनको आयोजनामा भएको प्रतियोगितामा नेपाली खेलाडी विपेश थापाले पहिलो पटक नेपालका लागि पदक दिलाएका हुन् । ५ डान प्राप्त थापाले प्रतियोगिताको तेस्रो दिनमा काँस्य पदक जितेका हुन् ।
नेपाल केम्पो खुकुरी महासंघका अध्यक्ष पाभेल शाहले नेपाली खेलाडीले प्राप्त गरेको यो सफलताले अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचान थपिएको बताउनुभयो ।
केम्पो, खेलकुद, र समग्र नेपालको इतिहासमा स्वर्णिम पृष्ठ थप्नुका साथै नेपालको राष्ट्रिय पहिचानको लागि पनि महत्त्वपूर्ण कोशेढुंगा भएको नेपाल केम्पो खुकुरी महासंघका प्रमुख सल्लाहकार बलदेव तिमल्सिनीले बताउनुभयो ।
प्रतियोगितामा सहभागिताका लागि महासंघका प्रमुख सल्लाकार बलदेव तिमल्सिना, अध्यक्ष पाभेल शाह, विदेश विभाग प्रमुख तथा ग्राण्ड मास्टर बिकाश सुवेदी तथा महासचिव शर्मिला कार्कीसहितको टोली गत २२ अप्रिलमा पोर्चुगल आइपुगेका थिए ।
पोर्चुगलको काल्दास रैन्हामा गत अप्रिल २२ बाट जारी प्रतियोगितामा विश्वभरका ७४ टीमको सहभागिता रहेको आयोजकले जनाएको छ ।
प्रतिक्रिया