सङ्खुवासभाको  एउटै परिवारका ६ जनाले गरे एकैपटक मकालु हिमाल आरोहण



खाँदबारी । सङ्खुवासभाको मकालु गाउँपालिका–२ का एकै पटक एउटै परिवारका ६ जनाले मकालु हिमालको आरोहण गरेका छन्। एकै परिवारका ५ दाजुभाइ र बहिनीसहित एक छोरीले विश्वको पाँचौ अग्लो मकालु हिमाल (८,४८५ मिटर) आरोहण गरेका हुन्।

विश्व कीर्तिमानिका लागि मकालु–२ का ङिमा ओङ्जुक शेर्पाका ४ छोरा १ छोरीले गत वैशाख २६ मा मकालु हिमाल आरोहण गरेको आरोही दलका सदस्य मुक्टुक लाक्पा शेर्पाले बताए । मुक्टुकले भने, ‘म सहित तीन भाइ, एक बहिनीले एकै परिवारका पाँच जना आरोहणमा विश्व कीर्तिमानी राख्न मकालु आरोहण गरेका हौं।’

एकै परिवारको कीर्तिमानीका लागि मुक्कुट, उनका भाइहरू ङिमा दोर्ची शेर्पा, आङ डी शेर्पा, पेछुम्वे शेर्पा र वहिनी पासाङ शेर्पाले एक साथ आरोहण गरेका हुन्। मकालु हिमालमा एउटै बाउका पाँच छोराछोरीले आरोहण गरेर कीर्तिमानी राख्ने हाम्रो परिवार पहिलो भएको बहिनी पासाङ याङ्जीले दाबी गरिन्। उनले भनिन्, ‘हामी कीर्तिमानी विश्व कीर्तिमानी लेखाउने प्रक्रियामा रहेका छौं।’ मकालु हिमालको प्रचारप्रसार गरी पर्यटक भित्राउन एकै परिवारका ५ जनाले एकै पटक मकालु आरोहण गरेको उनको भनाइ छ।

यसअघि उनका चार दाजुभाइले विश्वको दोस्रो अग्लो पाकिस्तानको केटु हिमाल (८६११मिटर) एक साथ आरोहण गरिसकेका छन्। एकै परिवारका चार दाजुभाइले एकै पटक आरोहण गरी कीर्तिमानी राखेका थिए । ८ दाजुभाइ मध्ये ५ जाना र २ दिदीबहिनी मध्ये १ जनाले विभिन्न हिमाल आरोहण गरिसकेका छन्। मुक्टुका माइलो दाजु काले छिरिङ शेर्पाले ५ पटक सगरमाथा र एक/एक पटक धौलागिरि र अन्नपूर्ण हिमाल आरोहण गरिसकेका छन्।

दाजुभाइ दिदीबहिनीको एक साथ कीर्तिमानी राख्ने क्रममा उनीहरू सँगै मुक्टुकका २३ वर्षीय छोरीले पनि मकालु हिमाल सँगै आरोहण गरेकी छन् । बुबा, काका र फुपुसँगै आरोहण गरेकी २३ वर्षीया एनीमा शेर्पा मकालु हिमाल आरोही मध्ये कान्छी महिला आरोही रहेको दाबी गरेकी छन्। एनीमाले भनीन्, ‘कान्छी आरोही महिलाको विश्व कीर्तिमानी दर्ताका लागि लागिरहेको छु।’ यसअघि गत चैतमा मकालु–२ कै २८ वर्षीया किप्पा लामु शेर्पाले कान्छी आरोहीको रूपमा मकालु हिमाल आरोहण गरेकी थिइन् ।

एकै परिवारका ६ जनाले एकै साथ मकालु आरोहण गरेपछि सो परिवारलाई नेपाल पत्रकार महासंघ सङ्खुवासभाले सोमबार खाँदबारीमा सम्मान पत्रले सम्मान गरेको छ।

सम्बन्धित समाचार