चिचिला गाउँपालिकामा वडा नम्बर ४ बाट वडा परिषद सुरु



खाँदबारी । चिचिला गाउँपालिकामा आगामी आर्थिक बर्षको लागि नीति तथा कार्यक्रम निर्माणका लागि वडा परिषद सुरु भएको छ । सोमबार वडा नम्बर ४ को वडा परिषद आयोजना गरिएको छ ।

वडा नम्बर ४ का अध्यक्ष बालकुमार तामाङको अध्यक्षतामा वडा परिषदको आयोजना गरिएको हो । गाउँपालिका अध्यक्ष पासाङ नुर्वू शेर्पाको प्रमुख आतिथ्यतामा वडा परिषद आयोजना गरिएको थियो । परिषद सभामा वडा नम्बर १ का अध्यक्ष पूर्णकुमार राई, वडा नम्बर २ का अध्यक्ष दिनेश कुमार राई, वडाका जनप्रतिनिधिहरु, शिक्षाकर्मीहरु, टोल विकास संस्था, आमा समुह लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

परिषद सभामा वडा अध्यक्ष बालकुमार तामाङले सकिदै गरेको आर्थिक बर्षको प्रगति बिवरण र आगामी आर्थिक बर्षको लागि प्रस्तावित, नीति तथा कार्यक्रम र बजेट पेश गर्नुभएको थियो । अध्यक्ष तामाङले गाउँपालिकाबाट प्राप्त भएको २५ लाख रुपैयाँ बजेटबाट १९ शिर्षकमा योजना तथा कार्यक्रम प्रस्ताव गर्नुभएको थियो ।

टोल टोलमा गरिएको टोल परिषदबाट छनौट भई आएको योजनाहरुको आधारमा वडा अध्यक्ष तामाङले योजना तथा कार्यक्रम बनाई बजेट पेश गर्नुभएको थियो । वडा सभामा पेश गरिएको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतले पारित गरिएको थियो । प्रस्ताव गरिएको कार्यक्रममा माथी आमा समुह, टोल विकास संस्था, शिक्षाकर्मी, राजनितिक दलका प्रतिनिधिहरु र आमन्त्रित जनप्रतिनिधिहरुले चर्चा गरेका थिए । प्रस्तावित कार्यक्रम विगत बर्षहरु जस्तै पृथक र प्रभावकारी रहेको प्रतिकृया दिएका छन् ।

वडा परिषदका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष पासाङ नुर्वू शेर्पाले वडाबाट सम्बोधन हुन नसकेको योजनाहरु विधिपूर्वक पालिकामा पठाउन सुझाव दिनुभयो । त्यस्ता योजनाहरु पालिका स्तरीय आयोजना बैंकमा राखेर प्राथमिकताको आधारमा सम्बोधन गरिने बताउनुभयो । पालिकाले सम्बोधन गर्न नसक्ने आयोजनाहरु माथिल्लो सरकारमा पठाईने अध्यक्ष शेर्पाले बताउनुभयो ।

माथिल्लो सरकारबाट प्राप्त हुने बजेटको सिमा खुम्चिदै आएकोले अब साझेदारीमा विकास निर्माण कार्य गर्नु पर्ने अध्यक्ष शेर्पाले बताउनुभयो । अत्यावश्यक बाहेकका सानातिना आयोजनाहरुमा बजेट नछुटाएर दिर्घकालिन महत्वका क्षेत्रलाई प्राथमिकतामा राख्ने पालिकाले नीति लिएको अध्यक्ष शेर्पाले जानकारी दिनुभयो । आगामी आर्थिक बर्षबाट पालिका भित्रका मुख्य सडकहरुमा कालोपत्रे सुरु गर्ने गरि तयारी भईरहेको उहाँले बताउनुभयो ।

वडा परिषदमा सामाजिक कार्यमा उत्कृष्ठ ३ समुहलाई सम्मान गरिएको छ । टोल विकास संस्था तर्फ खार्मिले टोल विकास संस्था, आमा समुह तर्फ मत्स्य जालपादेवी आमा समुह र मत्स्यपोखरी खेल मैदान निर्माण तथा बजार ब्यवस्थापन समितिलाई वडाले सम्मान गरेको छ । त्यस्तै, वडा नम्बर ४ को पर्यटन प्रवर्धनमा निशुल्क सहयोग गरेको भन्दै पत्रकार ध्यान कुलुङलाई पनि सम्मान गरिएको छ । विभिन्न सञ्चार संस्थामा आवद्ध पत्रकार कुलुङ मकालु अनलाईनका प्रधान सम्पादक समेत हुनुहुन्छ ।

जम्मा ५ वडा रहेको चिचिलामा २८ गते वडा नम्बर १, ३ र ५ मा वडा परिषद हुनेछ भने २९ गते वडा नम्बर २ मा हुनेछ ।

सम्बन्धित समाचार