चिचिला गाउँपालिकाले गर्यो पदक विजेता खेलाडी विद्यार्थीहरुलाई सम्मान



खाँदबारी । चिचिला गाउँपालिकाले जिल्ला र प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा पदक विजेता खेलाडी विद्यार्थीहरुलाई सम्मान गरेको छ । मंगलबार गाउँपालिकाको सभाहलमा एक कार्यक्रम आयोजना गरि पदक विजेता ८ विद्यार्थीहरुलाई सम्मान गरिएको हो ।

कोशी प्रदेश स्तरीय ८ सय मिटर दौडमा रजत पदक (दोश्रो स्थान) जितेका नमुना राईलाई नगद १५ हजार रुपैयाँ, दोसल्ला, सम्मान पत्र र करुवा दिएर सम्मान गरिएको छ । त्यस्तै, संखुवासभा जिल्ला स्तरीय ज्याभ्लिङ थ्रोमा स्वर्ण पदक र ८ सय मिटर दौड तर्फ रजत पदक जितेका सरश्वती मावि, बलौटेका ङिमा शेर्पालाई दोसल्ला, गरुवा र सम्मान पत्र प्रदान गरिएको छ । त्यस्तै, ३ हजार मिटर दौडमा स्वर्ण पदक जितेका सरश्वती मावि बलौटेका मनिका राईलाई पनि दोसल्ला, गरुवा र सम्मान पत्र प्रदान गरिएको छ ।

संखुवासभा जिल्ला स्तरमा नै ३ हजार र १५ सय मिटर दौडमा रजत पदक जितेका जालपा माविका तिलक राई, एक सय र २ सय मिटर दौडमा काश्य पदक जितेका जालपाकै प्रशान राई, त्रिपल जम्प तर्फ काश्य पदक जितेका सरश्वती मावि बलौटेका अनिल गुरुङलाई सम्मान गरिएको हो । ज्याभ्लिङ थ्रो तर्फ काश्य पदक जित्ने प्रभात मावि, बर्देउका बिमला राई र २ सय मिटर दौड तर्फ काश्य पदक जितेका मोनिका बिकलाई सम्मान गरिएको हो ।

गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडाअध्यक्षहरु, वडा सदस्यहरु तथा कर्मचारीहरुको उपस्थितिमा खेलाडीहरुलाई सम्मान गरिएको हो । खेल सुधारका लागि विद्यालय स्तरमा नै लगानी गर्नु पर्ने भएकोले आगामी आर्थिक बर्षदेखि विद्यालय स्तरीय खेलकुद कार्यक्रमलाई प्राथमिकता दिईने सामाजिक विकास समिति संयोजक एवम् वडा नम्बर ४ का अध्यक्ष बालकुमार तामाङले बताउनुभयो । आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा नै समावेश गरेर विद्यालय स्तरमा प्रशिक्षणको कार्यक्रम राखिने तामाङले बताउनुभयो ।

पदक विजेता विद्यार्थीहरुलाई बधाई दिनुहुँदै गाउँपालिका अध्यक्ष पासाङ नुर्वू शेर्पाले खेलाडीहरुलाई प्रोत्साहनको लागि विगतदेखि नै सम्मानको कार्यक्रम राख्दै आएको बताउनुभयो । प्रदेश स्तर र राष्ट्रिय स्तरका प्रतियोगिताहरुमा पदक विजेता खेलाडीहरुलाई नगदले सम्मान गर्ने पालिकाको नीति अनुरुप प्रदेश स्तरीय प्रतियोगिताका पदक विजेता नमुना राईलाई नगद सहित सम्मान गरिएको बताउनुभयो ।

सम्बन्धित समाचार