आदरणीय माननीय प्रतिनिधिसभा सदस्य डा. अर्जुन कार्कीज्यू
सादर नमस्कार,
हिमाली जिल्ला संखुवासभा प्रकृतिको अनुपम वरदान, अपार जलस्रोत, विश्वप्रसिद्ध मकालु–बरुण क्षेत्र, बहुमूल्य जडीबुटी, जैविक विविधता तथा समृद्ध संस्कृतिको संगमस्थल हो। यहाँका नागरिकले आफ्नै जन्मभूमिमा सम्मान, स्वाभिमान र सुरक्षाका साथ जीवनयापन गर्न पाउनु उनीहरूको मौलिक अधिकार हो।
अब संखुवासभालाई अधिकारको मात्र होइन, गौरव र समृद्धिको जिल्लाका रूपमा स्थापित गर्ने समय आएको छ। छिमेकी जिल्लाबाट यहाँ बसोबास गर्न आउने क्रम अझ बढोस्, भविष्यमा संखुवासभामा घरजग्गा हुनु गर्वको विषय मात्र नभई यहाँ घर बनाउने सपना प्रत्येक नेपालीको बनोस् भन्ने हाम्रो चाहना हो। त्यसका लागि रैथाने मौलिकता संरक्षण गर्दै आधुनिक तथा नवीन विकासका मोडेललाई समानान्तर रूपमा अघि बढाउन आवश्यक छ।
तपाईंजस्तो शिक्षित, अनुभवी र विकासप्रेमी नेतृत्व प्रतिनिधिसभामा निर्वाचित हुनु सम्पूर्ण संखुवासभावासीका लागि गौरवको विषय हो । तपाईं जुनसुकै राजनीतिक परिस्थितिमा भए पनि सम्पूर्ण जिल्लाको प्रतिनिधि हुनुहुन्छ भन्ने विश्वास हामीले गरेका छौँ। त्यसैले जिल्लाका नागरिकलाई रोजगारी, आयआर्जन र समृद्धिसँग जोड्ने पहल तपाईंको प्राथमिकतामा पर्ने अपेक्षा गरेका छौँ।
प्रतिकूल परिस्थितिलाई अनुकूल अवसरमा रूपान्तरण गर्नु नै सक्षम नेतृत्वको पहिचान हो। त्यसैले संखुवासभाको समग्र विकासका लागि तपाईंको सक्रिय, प्रभावकारी र परिणाममुखी भूमिका अपरिहार्य छ।
हामीले विश्वासका साथ मत दिएर निर्वाचित गराएका जनप्रतिनिधिका हैसियतले संखुवासभाका अपार सम्भावनालाई यथार्थमा रूपान्तरण गर्दै विद्यमान चुनौतीहरूको दिगो समाधानका लागि तयार पारिएको यो एकीकृत ‘भिजन डकुमेन्ट’ सार्वजनिक रूपमा प्रस्तुत गरेका छौँ। साथै, यसप्रति सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउँदै आवश्यक खबरदारी गर्ने नागरिक अधिकार पनि प्रयोग गरेका छौँ।
१. आधुनिक पूर्वाधार, राष्ट्रिय सडक सञ्जाल तथा द्रुतमार्ग
चार लेन सडक पूर्वाधार
व्यापार, पर्यटन तथा दैनिक आवतजावतलाई सहज बनाउन खाँदबारी–तुम्लिङ्टार, चतरा–माङ्माया–तुम्लिङ्टार तथा तुम्लिङ्टार–हेलुवाबेँसी सडकखण्डलाई आधुनिक चार लेन सडकका रूपमा विस्तार तथा स्तरोन्नति गरियोस्।
सुरुङमार्ग (Tunnel System) निर्माण
भौगोलिक दूरी घटाई वर्षभरि सहज आवागमन सुनिश्चित गर्न नामासे–रुकुम्मा, हेलुवा–हेदाङ्नालगायत सम्भावित क्षेत्रमा सुरुङमार्ग निर्माणको विस्तृत सम्भाव्यता अध्ययन गरी कार्यान्वयन प्रक्रिया अघि बढाइयोस्।
पाँच घण्टाभित्र जिल्ला स्तरीय कनेक्टिभिटी
सडक सञ्जालको स्तरोन्नति, कालोपत्रे तथा मोटरेबल पुल निर्माणमार्फत सदरमुकाम खाँदबारीबाट एक घण्टाभित्र सिलीचोङ, मकालु, चिचिला, सभापोखरी, पाँचखपन र चैनपुर तथा दुई घण्टाभित्र भोटखोला, मादी र धर्मदेवी पुग्न सकिने व्यवस्था मिलाइयोस्। समग्र जिल्लाभित्रको यात्रा अवधि अधिकतम पाँच घण्टाभित्र सीमित गर्ने लक्ष्य लिइयोस्।
पुँजीगत बजेटको प्रभावकारी कार्यान्वयन
जिल्लामा विनियोजित पुँजीगत बजेट शतप्रतिशत पारदर्शी, गुणस्तरीय र तोकिएको समयभित्र खर्च हुने सुनिश्चित गर्न प्रभावकारी अनुगमन तथा मूल्याङ्कन संयन्त्र निर्माण गरियोस्। साथै, योजनाको नियमित अनुगमन र प्रगतिसम्बन्धी समीक्षा प्रणालीलाई पनि प्रभावकारी बनाइयोस्।
सिँचाइ कार्यालयको यथावत् सञ्चालन
सांस्कृतिक, ऐतिहासिक तथा कृषिप्रधान क्षेत्र चैनपुरस्थित सिँचाइ कार्यालयलाई यथावत् कायम राखियोस्। साथै, न्यून कार्यभार तथा सीमित बजेट भएका केही सरकारी कार्यालयलाई आवश्यकताको आधारमा सम्बन्धित स्थानीय तहसँग समन्वय गरी पुनर्संरचना गर्ने व्यवस्था मिलाइयोस्।
२. हवाई यातायात, इन्धन डिपो तथा कार्गो हब
तुम्लिङ्टार विमानस्थल विस्तार
तुम्लिङ्टार विमानस्थलको धावनमार्ग (Runway) विस्तार गरी ठूला यात्रुवाहक तथा कार्गो विमान अवतरण गर्न सक्ने क्षमतामा स्तरोन्नति गरियोस्।
हवाई इन्धन डिपो तथा कार्गो हब स्थापना
तुम्लिङ्टार विमानस्थलमा हवाई इन्धन डिपो (Refueling Center) र आधुनिक कार्गो हब स्थापना गरी चीन, भारत र बङ्गलादेशलगायत छिमेकी मुलुकसँग व्यापारिक सहकार्य विस्तार गर्दै यसलाई पूर्वी नेपालको प्रमुख हवाई तथा व्यापारिक केन्द्रका रूपमा विकास गरियोस्।
३. व्यापार, खनिज, उद्योग तथा प्रविधि
सभाखोला क्षेत्रमा आधुनिक धर्मकाँटा सञ्चालन
सभाखोला क्षेत्रमा अत्याधुनिक धर्मकाँटा स्थापना गरी व्यापारिक मालसामानको ओसारपसार, तौल तथा भार परीक्षण प्रक्रियालाई पारदर्शी, व्यवस्थित र प्रविधिमैत्री बनाइयोस्।
रुद्राक्ष प्रविधि, ISO ट्रेडमार्क तथा प्रयोगशाला
संखुवासभामा उत्पादन हुने रुद्राक्षको गुणस्तर परीक्षणका लागि सरकारी स्तरमै प्राविधिक टोलीसहित अत्याधुनिक रुद्राक्ष स्क्यानर, परीक्षण प्रयोगशाला (ल्याब) तथा प्रमाणीकरण (Certification) कार्यालय स्थापना गरियोस्। साथै, संखुवासभाको रुद्राक्षलाई अन्तर्राष्ट्रियस्तरको ISO प्रमाणिकरण तथा ट्रेडमार्क दिलाउने पहल गरियोस्। यसबाट नक्कली रुद्राक्षको कारोबार नियन्त्रण भई जिल्लाको रुद्राक्ष व्यवसायप्रतिको विश्वास र बजार विस्तारमा टेवा पुग्नेछ।
किमाथाङ्का भन्सार कार्यालय
चीनसँग जोडिएको उत्तरी सीमा नाका किमाथाङ्कामा बाह्रै महिना पूर्ण क्षमतामा सञ्चालन हुने आधुनिक भन्सार कार्यालय स्थापना तथा आवश्यक पूर्वाधार विकास गरियोस्।
मूल्यवान् खानीहरूको वैज्ञानिक उत्खनन
फाक्वा, गुन्याहाङ, माङ्सिमा लगायतका क्षेत्रमा रहेका सम्भावित खानीहरूको वैज्ञानिक अध्ययन गरी वातावरणीय सन्तुलन कायम राख्दै व्यावसायिक उत्खनन प्रक्रिया अघि बढाइयोस्।
मार्बल तथा स्लेट ढुङ्गा उद्योग
घर तथा भवन निर्माणमा प्रयोग हुने गुणस्तरीय मार्बल र स्लेट ढुङ्गाको व्यावसायिक उत्खनन तथा प्रशोधन उद्योग स्थापना गरी स्थानीय स्रोत–साधनको सदुपयोग गर्दै रोजगारी सिर्जना गरियोस्। विशेषगरी पाङ्ठा–मयम क्षेत्रका सम्भावित ढुङ्गा स्रोतको अध्ययन र उपयोगमा प्राथमिकता दिइयोस्।
ठूला तथा मझौला उद्योग स्थापना
स्थानीय कच्चा पदार्थ, उपलब्ध प्राकृतिक स्रोत तथा औद्योगिक सम्भावनाका आधारमा स्वदेशी तथा बहुराष्ट्रिय लगानी आकर्षित गर्न लगानीमैत्री नीति निर्माण गरी ठूला तथा मझौला उद्योग स्थापना गर्न प्रोत्साहन गरियोस्।
४. जलस्रोत, ऊर्जा अधिकार तथा श्रमिक हित
निःशुल्क विद्युत् तथा सहुलियत महसुल
करिब ५,००० मेगावाट जलविद्युत् उत्पादनको सम्भावना रहेको संखुवासभाका नागरिकलाई घरायसी प्रयोजनका लागि निःशुल्क विद्युत् उपलब्ध गराउने तथा स्थानीय उद्योग–व्यवसायलाई विद्युत् महसुलमा ३० देखि ५० प्रतिशतसम्म सहुलियत प्रदान गर्ने नीति अवलम्बन गरियोस्।
स्वदेशी लगानीमा जलविद्युत् आयोजना
माथिल्लो अरुण (Upper Arun) र किमाथाङ्का अरुण जलविद्युत् आयोजनालाई स्वदेशी लगानी, स्थानीय नागरिकको सेयर स्वामित्व तथा नेपाली निर्माण कम्पनीहरूको सहभागिता सुनिश्चित गर्दै कार्यान्वयन गरियोस्।
बरुण नदीको प्राकृतिक स्वरूप संरक्षण
विश्वकै दुर्लभ जैविक विविधता बोकेको बरुण नदीको प्राकृतिक, स्वच्छ र मौलिक स्वरूप (Virginity) अक्षुण्ण राख्ने दीर्घकालीन नीति अवलम्बन गरियोस्। नदीको पर्यावरणीय महत्वलाई दृष्टिगत गर्दै यसको संरक्षणलाई प्राथमिकता दिइयोस्।
श्रम ऐनको प्रभावकारी कार्यान्वयन
अरुण–३ लगायतका ठूला आयोजनामा कार्यरत स्वदेशी तथा विदेशी श्रमिक र प्राविधिकबीच ज्याला, सुरक्षा तथा सेवासुविधामा हुने विभेद अन्त्य गर्दै श्रम ऐनको कडाइका साथ कार्यान्वयन गरियोस्। श्रमिक अधिकारको संरक्षण सुनिश्चित गर्न निर्माण कम्पनी, ठेकेदार तथा श्रम आपूर्ति गर्ने निकायलाई कानुनी रूपमा थप जिम्मेवार बनाइयोस्।
५. पर्यटन, साहसिक खेल तथा धार्मिक–सांस्कृतिक सर्किट
धार्मिक तथा पर्यटकीय सर्किट निर्माण
तातोपानी, सिद्धकाली, बालेश्वर, रामवेणी तथा धर्मदेवी मन्दिरलाई समेटेर एकीकृत धार्मिक पर्यटन सर्किट निर्माण गरियोस्। साथै, शेखाहा, पाङ्मा, मस्त्यपोखरी, ओख्रे, टाकुरे, नुनढाकी, खाम्लिङ, हुङ्गुङ, च्याम्ताङ, माङ्सिमा, फुकाम, तुम्लिङ्टार–साघुरी, गुवाबारी, लेलुवा, थालेडाँडा, सिवेक्पा, स्वाची, कुसुवा, ताम्कु, याफु, चिचिला, आङ्ला तथा हेलुवाबेँसीलगायतका क्षेत्रहरूमा व्यवस्थित होमस्टे सञ्चालन र पर्यटकीय पूर्वाधार विकासका लागि ठोस कार्यक्रम सञ्चालन गरियोस्।
मनकामना मन्दिरको पुनर्निर्माण
ऐतिहासिक तथा धार्मिक महत्व बोकेको मनकामना मन्दिरको भव्य पुनर्निर्माणका लागि नागरिक सहभागितासहित विशेष योजना सञ्चालन गरियोस्।
विशेष पर्यटकीय पदमार्ग विकास
खाँदबारी–शिवधारा–मकालु बेसक्याम्प, खेम्पालुङ, गुफापोखरी–तिनजुरे, सभापोखरी तथा ताप्लेजुङको कञ्चनजङ्घा–लुम्बासुम्बा–थुदाम पदमार्गलाई अन्तर्राष्ट्रियस्तरको पर्यटकीय गन्तव्यका रूपमा विकास गरियोस्।
साहसिक पर्यटन (बन्जी तथा जिपलाइन)
अरुण नदी तथा सभाखोलाका उपयुक्त स्थानमा बन्जी जम्प र जिपलाइन सञ्चालनको सम्भाव्यता अध्ययन गरी निजी तथा सार्वजनिक साझेदारीमा साहसिक पर्यटन प्रवर्द्धन गरियोस्। विशेषगरी आम्राङ र कत्लेभञ्ज्याङलगायतका सम्भावित क्षेत्रलाई प्राथमिकतामा राखियोस्।
स्काईवाक निर्माण
रमिते डाँडा वा लोहाकोट डाँडामा स्काईवाक निर्माणका लागि निजी क्षेत्रलाई लगानी गर्न प्रोत्साहन गर्दै आवश्यक सहजीकरण गरियोस्।
सभाताल निर्माण
संखुवासभावासीको लगानी र सहभागितामा सभाखोलामा आकर्षक सभाताल निर्माण गरी त्यस क्षेत्रमा डुङ्गा (बोट) सञ्चालन, व्यावसायिक माछापालन तथा आन्तरिक पर्यटन प्रवर्द्धन गरियोस्।
आध्यात्मिक ध्यान केन्द्र (Meditation Hub)
अरुण उपत्यकालाई ध्यान, योग तथा आध्यात्मिक पर्यटनको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा विकास गर्न बृहत् योजना सञ्चालन गरियोस्। साथै, योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालय सञ्चालनका लागि आवश्यक प्रक्रिया शीघ्र अघि बढाइयोस्।
६. कृषि, जडीबुटी तथा आधुनिक चिस्यान केन्द्र
न्यूनतम समर्थन मूल्य तथा सरकारी खरिद
स्थानीय तहसँग समन्वय गरी नगदे बाली तथा कृषि उपजको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने र राज्यले खरिदको सुनिश्चितता गर्ने व्यवस्था गरियोस्।
रैथाने जडीबुटीको व्यावसायीकरण
ऐँसेलु, चुथ्रो, अल्लो, भेडाको ऊन, सतुवा, लोठसल्ला, भोटेलसुन, जिम्बु, गुर्जनगानो, सुनाखरी, घ्यूकुमारी, पुदिना, टिमटिमे, गोक्पा, लप्सी, भकिम्लो, अमला, हर्रो, बर्रो, टिमुर, बोझोलगायत स्थानीय उत्पादन तथा जडीबुटीको व्यावसायिक उत्पादन, प्रशोधन र बजारीकरणका लागि विशेष कार्यक्रम सञ्चालन गरियोस्।
फलफूल तथा तरकारीमा आत्मनिर्भरता
जिल्लालाई हरियो तरकारी तथा फलफूल उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्यसहित दीर्घकालीन कार्यक्रम सञ्चालन गरियोस्। ड्रागन फ्रुट, किवी, सुन्तला, आँप, एभोकाडो, केरा तथा मेवाजस्ता उच्च मूल्यका फलफूल खेतीको व्यावसायिक विस्तारमा विशेष प्राथमिकता दिइयोस्।
किसान प्रोत्साहन कार्यक्रम
किसानलाई बीउपुँजी, मल, सिँचाइ, प्राविधिक परामर्श तथा आधुनिक कृषि प्रविधिमा सहज पहुँच सुनिश्चित गर्दै उत्पादनमुखी कृषि प्रणालीलाई प्रोत्साहन गरियोस्।
प्राविधिकसहितको आधुनिक चिस्यान केन्द्र
प्रयोगविहीन अवस्थामा रहेका कोल्ड स्टोरहरूको स्तरोन्नति गरी प्राविधिक जनशक्तिसहित जिल्लाका पायक पर्ने स्थानमा आधुनिक चिस्यान केन्द्र सञ्चालन गरियोस्।
७. प्रशासनिक पुनर्संरचना, शिक्षा तथा स्वास्थ्य
हिमाली उपमहानगरपालिकाको अवधारणा
अरुण उपत्यका क्षेत्रको समग्र विकास र नेतृत्व गर्ने उद्देश्यले खाँदबारीलाई केन्द्र बनाएर सशक्त हिमाली उपमहानगरपालिका गठनको अवधारणा अघि बढाइयोस्।
CTEVT विस्तार
उपयुक्त स्थानमा CTEVT का शाखा विस्तार गरी जिल्लाका जलविद्युत्, पूर्वाधार तथा अन्य विकास आयोजनाका लागि आवश्यक प्राविधिक जनशक्ति जिल्लामै उत्पादन गर्ने व्यवस्था गरियोस्। साथै, युवालाई जीवनोपयोगी तथा रोजगारमुखी सीपमूलक तालिम प्रदान गर्ने कार्यक्रम सञ्चालन गरियोस्।
प्रहरी उपरीक्षक (SP) को कमाण्ड
जिल्लाको भौगोलिक विकटता, सुरक्षा संवेदनशीलता तथा बढ्दो जिम्मेवारीलाई दृष्टिगत गर्दै जिल्ला प्रहरी कार्यालयको नेतृत्व प्रहरी उपरीक्षक (SP) स्तरबाट हुने व्यवस्था गरियोस्।
चिकित्सकको अनिवार्य उपस्थिति
जिल्लाका सबै सरकारी स्वास्थ्य संस्थामा तोकिएका चिकित्सकको बाह्रै महिना नियमित उपस्थिति सुनिश्चित गर्न प्रभावकारी अनुगमन तथा आवश्यक प्रशासनिक व्यवस्था गरियोस्।
निःशुल्क खानेपानी अभियान
प्रचुर जलस्रोतको सदुपयोग गर्दै संखुवासभामा स्वच्छ तथा सुरक्षित खानेपानीमा नागरिकको पहुँच सुनिश्चित गर्न ‘निःशुल्क खानेपानी अभियान’ सञ्चालन गरियोस्।
८. खेलकुद, कला–संस्कृति तथा पूर्वाधार
रैथाने खेल ‘दच्ची’ को अन्तर्राष्ट्रिय प्रवर्द्धन
संखुवासभाको मौलिक तथा परम्परागत खेल ‘दच्ची’ लाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउन आवश्यक कार्यक्रम सञ्चालन गरियोस्। साथै, मास कुट्ने परम्परागत ‘मैयारानी’ जस्ता मौलिक सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धन गरियोस्।
गुराँस रङ्गशाला (High-Altitude Stadium)
मादी गाउँपालिकामा निर्माणाधीन गुराँस हाइ–अल्टिच्युड रङ्गशाला को निर्माण कार्यलाई तीव्रता दिई निर्धारित समयभित्र सम्पन्न गरियोस्। साथै, भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न सक्ने स्तरको पूर्वाधार विकास गरियोस्।
व्यावसायिक रङ्गशाला तथा सभाहल
राज्यलाई न्यून आर्थिक भार पर्ने गरी सार्वजनिक–निजी साझेदारी (PPP) मोडेलमा व्यावसायिक रङ्गशाला तथा कम्तीमा ५,००० दर्शक क्षमताको आधुनिक सभाहल (City Hall) निर्माण गरियोस्।
संखुवासभा कला प्रतिष्ठान स्थापना
संखुवासभाको लोकसंस्कृति, भाषा, कला, साहित्य तथा सांस्कृतिक सम्पदाको संरक्षण, प्रवर्द्धन र अनुसन्धानका लागि ‘संखुवासभा कला प्रतिष्ठान’ स्थापना गरियोस्।
९. विपद् व्यवस्थापन तथा जलवायु अनुकूलन
देशकै बढी वर्षा हुने जिल्लामध्ये एक संखुवासभामा वर्षायाममा हुने बाढी, पहिरो, असिना, हावाहुरी तथा प्रसारण (ट्रान्समिसन) लाइनबाट हुने क्षतिको पूर्वानुमान, जोखिम न्यूनीकरण तथा पूर्वतयारीका लागि प्रभावकारी प्रणाली विकास गरियोस्। साथै, जंगली जनावर तथा बाँदरको आक्रमणबाट हुने क्षति न्यूनीकरण, प्रभावित नागरिकको तत्काल उद्धार, राहत, पुनःस्थापना तथा आवश्यक परे सुरक्षित स्थानान्तरणका लागि विशेष कार्यक्रम सञ्चालन गरियोस्।
अन्त्यमा : माननीय डा. अर्जुन कार्कीसँग हाम्रो अपेक्षा
यी ३८ बुँदे प्रस्ताव केवल मागपत्र मात्र होइनन्; संखुवासभाको समग्र, समावेशी र दिगो विकासका लागि तयार गरिएको दीर्घकालीन ‘मास्टर प्लान’ हुन्। तपाईंजस्तो अनुभवी, दूरदर्शी र राष्ट्रिय राजनीतिक नेतृत्वले यी प्रस्तावलाई राष्ट्रिय योजना आयोग तथा पर्यटन, अर्थ र भौतिक पूर्वाधारलगायत सम्बन्धित मन्त्रालयसँग समन्वय गरी नीति, योजना र बजेटमा रूपान्तरण गर्नुहुनेछ भन्नेमा हामी विश्वस्त छौँ।
संखुवासभावासीको पहिचान, समृद्धि र भविष्य सुनिश्चित गर्ने यस अभियानमा सम्पूर्ण जिल्लावासीको साथ र समर्थन रहने विश्वास व्यक्त गर्दछौँ।
जय संखुवासभा !
एक शुभेच्छुक
ध्रुव खड्का


प्रतिक्रिया