रि डिजाईनपछि पनि बनेन अरुणको पुल



निर्माणको क्रममा छोडिएको अरुण नदिको पुल ।

सङ्खुवासभा, पुष २६ गते । तीन बर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने गरि २०६७ साल अषाढ २५ गते सम्झौता गरिएको लम्सुवाघाट स्थित अरुण नदिको पुल सुरु गर्ने बित्तिकै निर्माण कार्य रोकिएको थियो । पुलको जग खन्ने क्रममा ठुलो चट्टान भेटिएको भन्दै ठेकेदारले काम छोडेपछि रि डिजाईन गरिएको थियो ।
भोजपुर र सङ्खुवासभा जोड्ने सो पुल नबनेपछि दुवै जिल्लाका स्थानीय नागरिकहरु पुल चाँडो बन्नु पर्ने माग राख्दै पटक पटक डेलिगेशनमा गएका छन् । पुर्व सम्झौता अनुसार ठेकेदारले काम गर्न नसक्ने बताउदै काम ठप्प पारेपछि पुनः पुलको डिजाईन गरिएको थियो । गत कातिकमा नै पुल निर्माण कार्य चाँडो सुरु गर्न ठेकेदारसँग ‘माईनट’ गरिएको तर पुल निर्माण सुचारु गर्न नसकिएको सडक डिभिजन कार्यालयका प्रमुख घनश्याम गौतमले स्वीकार्नुभयो ।

चाँडो काम सुचारु गर्न ठेकेदारलाई ताकिता गर्दा निर्माणस्थलमा मेसिन लैजाने क्रममा बिग्रिएकोले काममा ढिलाई भईरहेको बताएको गौतमले जानकारी दिनुभयो । ‘काम सुरु गर्न ढिलो भएकोबारे बुझ्दा निर्माण स्थल पुग्न लाग्दा मेसिन बिग्रिएको र मर्मत गर्ने मिस्त्री समेत बोलाई सकिएको भनेका छन्’ गौतमले भन्नुभयो । आफुले पनि पुल निर्माण कार्यलाई चाँडो सुचारु गर्न निर्माण कम्पनीलाई पत्राचार गरिसकेको उहाँको दावी छ ।
रि डिजाईन गर्दा अघिल्लो डिजाईनमा ७२ मिटर पुलको लम्बाई बढ्ने भएको छ । यसअघिको डिजाईनमा एक सय साठी मिटर रहेको थियो । रि डिजाईनपछि पनि यस अघिको कम्पनी स्वच्छन्द निर्माण कम्पनीलाई नै पुल निर्माणको ठेक्का दिईएको थियो । एक सय साठी मिटर पुल भ्याट बाहेक १३ करोड पाँच लाख चालिस हजार सात सय दश रुपैयामा निर्माण गर्ने सम्झौता गरिएको थियो । रि डिजाईनपछि ०७४ साल अषाढ २४ गते भित्र सम्पन्न गर्नेगरि समय थप गरिएको छ । बाँकी ७२ मिटरको भने ठेक्का लगाईएको छैन ।

सम्बन्धित समाचार