८ हजार मिटर अग्ला हिमाल १४ पुगे



काठमाडौं । विश्वका ८ हजार अग्ला १४ हिमालमध्ये ८ वटा मात्रै नेपालमा भन्दै आउनुभएको छ भने अब यो तथ्यांक गलत हुनेछ ।

खुसीको कुरा १ आठ हजार अग्ला चुचुराको संख्या ८ बाट बढेर १४ पुगेको छ । नेपाल पर्वतारोहण संघका अध्यक्ष आङछिरिङ शेर्पाले शनिबार राजधानीमा आयोजित एमएनएस भिम्याग विकएन्ड अन्तर्गत स्काई एजेन्डा सेसनमा भने, ‘नेपाल सरकारले नै ८ हजार अग्ला १४ हिमाल आरोहणको अनुमति दिन थालिसक्यो, विश्व समुदायले मान्यता दिन मात्रै बाँकी छ ।’ उनका अनुसार कञ्चनजंघामा पाँच वटा, ल्होत्सेमा तीन गरी ८ वटा ८ हजार अग्ला चुचुरा छन् । त्यस्तै मकालु, धौलागिरि, चोयु, मनास्लु, अन्नपूर्ण र सगरमाथासहित अब १४ वटा ८ हजार अग्ला चुचुरा पुगेका छन् । स्वीट्जरल्यान्डको माउन्टेनियरिङ एन्ड क्लाइम्बिङ फेडेरेसनको प्राविधिक टोलीको जाँचपछि यी चुचुराले अन्तर्राष्ट्रिय मान्यता पाउनेछन् ।

पर्वतारोहण संघले जाँच्न आग्रह गरिसकेको छ । छलफलमा शेर्पाले आरोहणमा पर्यटकको संख्या बढाउन शुल्क घटाइनुपर्ने बताए । उनले सरकारले लिने ११ लाख रुपैयाँ अत्यधिक महँगो भएको उल्लेख गर्दै चीनमा नेपालको दाँजोमा सस्तो रहेको बताए । कार्यक्रममा पाटा नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले चीन र भारतकै पर्यटक तान्ने कार्यक्रममा केन्द्रित रहनुपर्ने उल्लेख गर्दै नेपालले वार्षिक ३० लाख पर्यटक थेग्न सक्ने सम्भावना रहेको बताए । हस्पिटालिटी क्षेत्रमा कार्यरत खेमराज लखाईले पछिल्लोपटक नेपालमा ४० बढी होटल म्यानेजमेन्ट कलेज खुलेको भन्दै यस क्षेत्रले मान्यता पनि पाउँदै गरेको बताए । ‘अब म होटलमा काम गर्छु भनेर गर्व गर्ने समय आएको छ,’ गेट कलेजका प्रमुख कार्यकारी लखाईले भने ।

तर नेपालमा अध्ययन गरेपछि अधिकांश विदेशिने गरेको व्यवसायी राजन शाक्यले बताए । ‘अधिकांश नेपालको आम्दानीले सन्तुष्ट नभएर यूके, यूएस, दुबई जान थाले रोक्न सकिएन,’ काठमाडौं गेस्ट हाउसका सञ्चालकसमेत रहेका शाक्यले भने । पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले सरकारले पर्यटनलाई प्रमुख तीन क्षेत्रमध्येको एउटा भन्दै आए पनि प्राथमिकतामा नपरेको गुनासो गरे । ‘सरकारले आर्थिक योगदान गर्न सक्ने टप थ्री सेक्टर भनेको छ तर इनोभेसन, क्रिएटिभिटी गुणस्तर सेवा अभावै देखिन्छ,’ उनले भने ।

कार्यक्रममा धनगढीबाट आएका टुरिजम डेभलपमेन्ट सोसाइटीका महासचिव सञ्जय चौधरीले सुदूरपश्चिममा हवाई भाडा महँगो भए पनि पर्यटन लक्षित होटलमा मात्रै ११ अर्ब हाराहारी लगानी पुगेको बताए । होटल एसोसिएसनका उपाध्यक्ष विनायक शाहले होटलको संख्या बढ्दै गइरहेको तर तर पर्यटक बढाउन नसकिएको औंल्याए । टानका अध्यक्ष चन्द्रप्रसाद रिजालले पछिल्लोपटक केही व्यवसायीहरूको गलत प्रतिस्पर्धाका कारण पर्यटन बजारमा नकारात्मक असर परेकाले पर्यटन विभागलाई नियन्त्रणका लागि अनुरोध गरे ।

नाटाका अध्यक्ष मधुसुदन आचार्यले विमानस्थल सुधारमा सरकारले धेरै काम गर्न बाँकी रहेको औंल्याए । कार्यक्रममा राफ्टिङ व्यवसायी मेघ आलेले नेपालीहरूको पनि रुचि अत्यधिक बढेको बताउँदै नदीको दोहन रोकिनुपर्ने औंल्याए । कार्यक्रममा सञ्चारकर्मी समृद्धि राई र फोटो पत्रकार गोरख विष्टले युवाहरूको घुमफिरमा रुचि अत्यधिक बढ्दै गएको जानकारी दिएका थिए ।

सम्बन्धित समाचार