दशैँ तिहार विदामा घुम्ने याेजना छ ? पुग्नुहाेस, याे सुन्दर शिवधारा र मकालु बेसक्याम्पसम्म (फाेटाे फिचर)



खाँदबारी । सङ्खुवासभाकाे मकालु गाउँपालिकामा पर्ने शिवधारा र मकालु बेसक्याम्प जति पवित्र क्षेत्र हाे उत्तिकै मनाेरम र शुन्दर पनि ।

भगवान शिव र पार्वतीले बास गरेकाे ठाउँकाे रुपमा परिचित शिवधारा अलाैकिक र आश्चर्यजनक छ । संसारकै पाँचाै तथा नेपालकाे चाैंथाे अग्लाे मकालु हिमालकाे आधार शिवर त सुन्दर नहुने कुरै भएन ।

दुई हप्तासम्म बिदा हुनेहरुकाे लागि याे क्षेत्र एक आकर्षक गन्तब्य हुनसक्छ । दशैँदेखि तिहार सकिएसम्म विदा भएकाहरु यस क्षेत्रमा घुम्न जानलाई उपयुक्त हुन सक्छ ।

छिटाे हिड्नेहरुकाे लागि सङ्खुवासभा सदरमुकाम खाँदबारीबाट बाटाे लागेकाे १० दिन भित्र नै पुन: खाँदबारी आईपुग्छन् भने फुर्सद हुनेहरु २ हप्तासम्ममा सहजै खाँदबारी आई पुग्न सक्छन् ।

यात्राकाे पहिलाे दिन खाँदबारीदेखि नुम बजार पुग्न सकिन्छ । दाेश्राे दिन नुमदेखि सेदवा, तेश्राे दिन सेदुवादेखि टासी गाउँ, चाैथाे दिन टासी गाउँदेखि खाेङ्मा पुगिन्छ । पाँचाै दिन खाेङ्मादेखि दाेबाटे, छैटाैं दिन दाेबाटेदेखि याङ्ले खर्क, साताैं दिन याङ्ले खर्कदेखि नेह् खर्कमा खाजा खाने र शिवधारा चढ्ने । शिवधारबाट खाना खान याङ्ले झर्ने र केहि समय आराम गरेपछि मकालु बेस क्याम्प तर्फ लाग्ने ।

नेह् खर्कदेखि दिउँसाे बाटाे लागेकाे दिन (आठाैं दिन) तादस् भन्ने ठाउँमा बास पुग्न सकिन्छ र नवाैं दिन सवेरै मकालु बेसक्याम्प पुग्न सकिन्छ । बेस क्याम्प पुगेपछि कत्ति समय रहने र कहिले झर्ने भन्ने आफ्नाे समय अनुकुल मिलाउन सकिन्छ । बेस क्याम्पसम्म पुग्दा उकालाे र झर्दा ओरालाे पर्ने भएकाेले फर्किदा छाेटाे समय लाग्छ ।

चाम्ला खर्क (नुमदेखि करिव ४ किलाेमिटर पर) गाडी छाेड्नु पर्छ । बाँकी पैदल यात्रा गर्नु पर्छ । ठाउँ ठाउँमा मात्र माेबायल नेटवर्क टिप्छ । गन्तब्य उचाईमा रहेकाेले लेक लाग्न सक्छ । खाजाकाे रुपमा मकैकाे सातु उत्तम हुने भर्खरै मात्र त्यहाँ पुगेर फर्किनुभएकाे चिचिला १ का बिनाेद पराजुली सुझाउनु हुन्छ ।

हालै मात्र मकालु बेस क्याम्पसम्म पुग्नुभएका उज्जवल बस्नेतले खिच्नुभएकाे केहि फाेटाेहरु यहाँ प्रस्तुत गरिएकाे छ ।

सम्बन्धित समाचार