चिचिलामा सम्पन्न अन्तर राष्ट्रिय साँस्कृतिक सम्मेलन एक ‘कोशेढुङ्गा’



असोज २७ गते चिचिला गाउँपालिकाको आयोजना तथा मकालु साहित्य समाज सङखुवासभाको संयोजनमा भारत र नेपाल विचको अन्तर राष्ट्रिय साँस्कृतिक सम्मेलन सम्पन्न भयो । मुख्य गरि भारतको आदिवासी समुदाय कार्बि कुर्फो आमेई र चिचिला गाउँपालिका लगायत अन्य स्थानीय तह विच साँस्कृतिक आदान प्रदान भयो ।

कार्बि समुदायले आफ्ना साँस्कृतिक पहिचान सहितको प्रस्तुती देखाए भने चिचिला गाउँपालिकाका जातजाती र चिचिला गाउँपालिकाको निमन्त्रणामा अन्य पालिकाहरुले पनि विभिन्न झाँकिहरु प्रस्तुत गरे । उक्त झाँकीहरुले कार्यक्रमका सार्थकता र गरिमा बढायो ।

मुलतः भारतको आदिवासी समुदाय र चिचिला गाउँपालिका तथा यहाँका समुदाय विच साँस्कृतिक सम्बन्ध कायम गर्दै पर्यटन प्रवर्धन गर्ने चिचिला गाउँपालिकाको लक्ष्य थियो । सोहि योजना अनुरुप अन्तर राष्ट्रिय साँस्कृतिक सम्मेलनको आयोजना गरिएको थियो । पन्ध्र सय भन्दा बढिको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रम ‘विहानीको चम्किलो सुर्योदय’को रुपमा लिन सकिन्छ ।

कार्यक्रममा चिचिला गाउँपालिकाका संगीनी नाँच, गुरुङ, लोहोरुङ, खालिङ, याम्फु लगायतका समुदायले आफ्नो जातिगत साँस्कृतिक झाँकी प्रस्तुत गरे । चिचिला गाउँपालिकाको निमन्त्रणामा भोटखोलाको भोटे समुदायको स्याप्रु, मकालु गाउँपालिकाको तामाङ समुदायको डम्फु नाँच र याम्फु समुदायको शिली, सभापोखरी गाउँपालिकाको लिम्बु समुदायको च्यप्रुङ, चैनपुर नगरपालिकाको नेवार समुदायको लाखे र धर्मदेवी नगरपालिकाको याक्खा जातिको डोकेनी नाँचले त कार्यक्रमलाई जुरुक्कै उचाल्यो ।

चिचिला गाउँपालिकाको चार माध्यमिक विद्यालयले पनि साँस्कृतिक प्रस्तुती दिएका थिए । पछिल्लो समय लोपोन्मुख मुर्चुङ्गा, बच्छै बाजा र हाक्पारे लगायतका साँस्कृतिक प्रस्तुतिहरु पनि स्थानीयले प्रस्तुत गरे ।

गाउँपालिका अध्यक्ष पासाङ नुर्वु शेर्पाको अध्यक्षता तथा धर्मगुरु सताब्दि पुरुष मानबीर लामा (गुरुङ) को प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा जिल्लाको प्रमुख राजनितिक दलका प्रतिनीधिहरु, जिल्लाको उच्च पदस्थ कर्मचारीहरु र सवै स्थानीय तहहरुका प्रमुख तथा प्रतिनीधिहरुको उपस्थिति रहेको थियो । छिमेकी देशलाई समेत समेट्दै विभिन्न जातजातीहरुको साँस्कृतिक विनिमयको कार्यक्रम आयोजना गरिएको प्रति बक्ताहरुले मुक्तकण्ठले प्रशंसा गरे । धर्मदेवी नगरपालिकाका साँस्कृतिकर्मी मागमान जिमीले यस्ता कार्यक्रम जनजाति महासंघ जस्ता संस्थाले आयोजना गर्नु पर्नेमा एउटा सानो गाउँपालिकाले आयोजना गरेकोमा धन्यवाद नै दिए ।

भारत आसामका कार्बि समुदायको नेतृत्व गरेका बालेश्वर हान्सेले कार्यक्रममा बोल्दै आफुहरु बार्षिक रुपमा चिचिला गाउँपालिका आउने प्रतिबद्धता ब्यक्त गरे । आफुहरुले हरेक बर्ष उच्च भुभागबाट हिमालको पुजा गर्ने र उपयुक्त स्थान चिचिला गाउँपालिकाको डाँडा रहेको बताए । पुजा स्थलमा आफ्नो छुट्टै संरचना निर्माण गर्ने र सयौंको सङ्ख्यामा हिमालको दर्शन गर्न आउने बताउनुभयो । योसँगै चिचिला गाउँपालिका र चिचिलावासीलाई भारतमा निमन्त्रणा समेत गरे । केहि समय पछि कार्बि समुदायको संस्थाको स्वर्ण महोत्सवमा सहभागिताको लागि समेत निम्तो दिए ।

कार्बि समुदायको पुजा स्थलको लागि गाउँपालिकाको एक सामुदायिक बनले जग्गा उपलब्ध (राजिनाम पास नगर्ने गरि) उपलब्ध गराउने भएको छ । जहाँ उनीहरुले दश लाख भारतीय रुपैयाँको लागतमा संरचना निर्माण गर्ने बताईएको छ । उनीहरु बार्षिक रुपमा सयौंको सङ्ख्यामा चिचिला आउँदा चहलपहल बढ्ने र स्थानीय उत्पादनहरुको खपतमा सहयोग पुग्ने गाउँपालिकाको अपेक्षा छ । यसरी उनीहरुको धार्मीक यात्राको क्रममा चिचिला आउँदा उनीहरुकै माध्ययमबाट पर्यटन प्रवर्धनमा टेवा पुग्ने चिचिलाको दावी छ ।

कार्यक्रम सफलता पुर्वक सम्पन्न हुनुमा चुस्त र जिम्मेवार ब्यवस्थापन नै मुख्य पाटो रह्यो । यो कार्यक्रम सम्पन्न गर्न कार्यक्रम संयोजक ताराबहादुर बुढाथोकीको पनि अहम् भुमिका रह्यो । साथमा गाउँपालिका अध्यक्ष पासाङ नुर्वु शेर्पाको सहि नेतृत्व सहितको निर्देशन, जनप्रतिनीधिहरुको लगाव, प्रमुख प्रशासकीय अधिकृत शुक्रादेवी राई नेतृत्वको कर्मचारीहरुको खटाईले राम्रो नतिजा दियो । स्थानीय नागरिकहरुकाे भुमिका र सहयाेग पनि उत्तिकै महत्वपुर्ण थियाे । यहि सम्मेलनबाट सुरु भएको अन्तरदेशीय सम्बन्धले गाउँपालिकाको पर्यटन प्रवर्धनमा टेवा पुग्न सके यस पटकको कार्यक्रम एक कोशेढुङ्गा सावित हुनेछ ।

सम्बन्धित समाचार