सगरमाथा आरोहण अनुमति लिनेको संख्यामा नयाँ रेकर्ड



सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि यस वर्ष इतिहासकै सबैभन्दा बढीले अनुमति लिएका छन्। बसन्त ऋतुमा आरोहण सिजन सुरु भएसँगै बुधबारसम्म ४ सय ६३ जनाले आरोहण अनुमति लिएको पर्यटन विभागका निर्देशक युवराज खतिवडाले जानकारी दिए।

अनुमति लिनेमा ३ सय ६७ जना पुरुष र ९६ जना महिला छन्। जसमध्ये पनि सबैभन्दा बढी ९६ जना चिनियाँ नागरिक छन्। यसपटक सगरमाथाबाट रोयल्टी पनि अत्यधिक मात्रामा संकलन भएको छ।

आरोहीबाट अहिलेसम्म ६५ करोड रुपैयाँ रोयल्टी रकम संकलन भइसकेको विभागले जनाएको छ। यता सगरमाथा आधारशिविरमा भने आरोहीहरूको चाप बढेको छ। आरोहण अनुमति लिएका ७० प्रतिशत आरोहीहरू आधार शिविर पुगिसकेको सगरमाथा प्रदुषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले बताए।

त्यस्तै कोरोना महामारी पछि खुम्बु क्षेत्रको पर्यटन व्यवसाय पनि फस्टाएको छ। खुम्बुका ८० प्रतिशत होटलहरू भरिभराउ रहेको पर्यटन व्यवसायी छिमिकाल्देन शेर्पाको भनाइ छ।

 

सम्बन्धित समाचार