अरुणमा पुल नबन्दा महँगीको मार



भोजपुर । उत्तरी भेगको मुख्य व्यापारिक केन्द्र दिङ्लालाई छिमेकी व्यापारिक जिल्लासँग जोड्ने एक मात्र नाका अरुण नदीको लम्सुवाघाटमा पुल नबन्दा महँगी बढेको छ । यातायात सेवा अनियमित हुँदा ढुवानी भाडादर पनि उच्च छ । जसका कारण दिङ्ला बजारमा दैनिक उपभोग्य सामग्रीको मूल्य आकासिएको छ ।

दिङ्ला बजार मूलपानी, केउरेनीपानी, तुंगेछा, नेपालेडाँडा, खार्ताम्छा, कुदाक काउले, नेपालेडा“डा, खाटम्मालगायतको मुख्य व्यापारिक तथा प्रशासनिक केन्द्र हो । संखुवासभाको तुम्लिङटार र षडानन्द नगरपालिका जोडिने लम्सुवाघाटको निर्माणाधीन पक्की पुल निर्माण सुरु भएको पाँच वर्षमा पनि पूरा भएको छैन ।
पुल नबन्दा डुंगा र झोलुंगे पुलबाटै दैनिक उपभोग्य सामग्री ओसार–पसार गर्नुपर्ने बाध्यता छ । नजिकको बजार संखुवासभाको सदरमुकाम खाँदबारीसँग यातायातको सीधा पहुँच नहुँदा रिजर्भको ढुवानी महँगो हुने गरेको छ । खाँदबारी भोजपुरको उत्तरी भेगका सर्वसाधारणको मुख्य व्यापारिक नाका हो । दैनिक उपभोग्य खाद्य सामग्री नुन, तेल, चिनीलगायतको मूल्य गत वर्षको तुलनामा २५ प्रतिशत वृद्धि भएको छ । आधा लिटर भटमासको तेलको मूल्य सय रुपैयाँ पर्छ भने चिनी प्रतिकेजी सय रुपैयाँ पर्छ । तुंगेछाका सूर्य गिरीले भने, ‘बनिबुतो गरेर जीविका चलाउने दीनदुःखीलाई बिहान–बेलुकीको छाक टार्नै मुस्किल पर्ने अवस्था आएको छ ।’
धरानदेखि तुम्लिङटारसम्म सामान ल्याउँदा ढुवानी खर्च प्रतिकेजी पाँच रुपैयाँ लाग्ने गरेको छ भने तुम्लिङटारदेखि लम्सुवाघाट झार्न दुईदेखि तीन रुपैयाँ लाग्छ । त्यस्तै, अरुण नदी तार्दा डुंगाले कम्तीमा दुई रुपैयाँ लिन्छ । नदी पार गरेपछि दिङ्लासम्म पु¥याउन थप पाँच रुपैयाँसम्म खर्च गर्नुपर्छ । सामान पसलमा ल्याइपुर्‍याउँदा नै महँगो पर्ने भएकाले मूल्य बढाएर बेच्नुपर्ने बाध्यता रहेको स्थानीय व्यापारी नगेन्द्र राईले बताए । लम्सुवाघाटको पुल निर्माण सम्पन्न नभएसम्म महँगी कम नहुने उनले बताए ।

नयाँपत्रिकाबाट ।

सम्बन्धित समाचार