बाल गृहबाटै आफ्नो छोरा हराएपछि आमा चिन्तित



हराईरहेको आफ्नो छोराको फोटो देखाउदै खड्का । तस्विर सौजन्य दीपेन्द्र शाक्य

सङ्खुवासभा, बैशाख ७ गते । विगत ८ बर्षदेखि जेल जिवन विताईरहेका गिता खड्कालाई बाल गृहबाटै हराईरहेको आफ्नो ९ बर्षिय छोरा नभेटिएपछि चिन्तित हुनुहुन्छ । गत फागुन २६ गतेदेखि हराईरहेको आफ्नै छोराको कुनै अत्तोपत्तो नभएपछि उहाँ चिन्तित हुनुभएको हो ।
हराईरहेको आफ्नो छोराको खोजी कार्यमा सम्बन्धीत निकायले कम चासो दिएको उहाँको गुनासो छ । छोराको संरक्षक माट्स नेपालले छोरा हराएको लामो समय वितिसकेपछि मात्र जानकारी दिएको उहाँले गुनासो गर्नुभयो ।

कर्तब्य ज्यान मुद्धामा दूधे बालकसहित जेल परेपछि श्रीमानले अर्कै श्रीमती विहे गरेर घरजम गरिसकेका छन् । ‘यहाँबाट छुटेर पनि कतै जाने ठाउँ छैन’, उहाँले भन्नुभयो, ‘त्यही छोराको आसमा बाँचिररहेकी छु, मलाई जसरी पनि छोरो चाहियो ।’ विभिन्न गैरसरकारी संस्थाको आग्रहपछि उहाँले छोरालाई बाल कल्याण गृहमा राख्न मञ्जुरी दिनुभएको थियो । ‘छोरा मसँगै थियो, अधिकारका कुरा गरेर बालगृहमा राख्न पठाए, अहिले बेपत्ता भयो, कसरी खोजौं, म कारागारमा छु’ खड्काले भन्नुभयो । आगामी जेठ १५ गते कारागारबाट छुट्ने खड्काले बाँच्ने साहारा एउटै छोरा पनि हराएपछि बाँच्नुको अर्थ नरहेको दुखेसो पोखिन ।

हाराएको आफ्नो छोराको खोजी कार्यमा बाल गृहले कम चासो दिएको बताउदै उनीहरु बिरुद्ध मुद्धा चलाउने सोँच समेत भईरहेको उहाँले बताउनुभयो । ‘मेरो छोरा हराएको खबर पनि दुई हप्ता वितिसक्दा मात्र पाएँ’ खड्काले गुनासो पोख्नुभयो, ‘यस्तो देख्दा उनीहरुको नियत माथी पनि शंका लाग्छ ।’

गत फागुन २६ गते विहान ११ बर्षिय विक्रम तामाङसँगै हराएको पुजन खड्काको खोजी कार्य तिब्र बनाएपनि हालसम्म कुनै अत्तोपत्तो नभएको माट्स नेपालका कार्यबाहक अध्यक्ष प्रविन राईले जानकारी दिनुभयो । पुर्वका विभिन्न जिल्लाका बाल कल्याण समितिहरुसँग पनि सहयोग मागेर खोजी कार्य भईरहेको उहाँको भनाई छ । बजारका विभिन्न होटलहरुमा मजदुरको रुपमा काम गरिरहेको आशंकामा त्यस क्षेत्रमा पनि खोजी कार्य तिब्र बनाईएको राईले बताउनुभयो । हराईरहेको दुई मध्ये मोरङको हरैचा घर बताउने विक्रम तामाङलाई केहि दिन अघि खाँदबारीमा भटिएपछि आपतकालिन आश्रय दिईएको थियो । तामाङ एक ठाउँबाट अर्को ठाउँमा सरिरहने भएकोले उनैको साथमा खडका पनि गएको हुनसक्ने आशंका गरिएको बताईएको छ ।

यसरी गायब भएका थिए पुजन


मोरङको हरैंचा घर बताउने ११ वर्षीय विक्रम तामाङ बेवारिसे अवस्थामा फागुन ६ गते सदरमुकाममा भेटिए । आमाबाबुको नाम प्रस्ट बताउन नसक्ने तामाङलाई प्रहरीले बालगृहमा राखेको थियो । आपतकालीन संरक्षण गृह (ट्रान्जिट होम) भनेर तामाङलाई त्यहाँ राखिएको गृह सञ्चालकले जनाएका छन् । फागुन ६ मा गृहमा आएका तामाङसँग चञ्चले स्वभाव भएका पुजनको मित्रता बढ्यो ।

‘गृह सञ्चालकले पटक–पटक सोध्दा तामाङले फरक–फरक जवाफ दिन्थे,’ माट्सका कार्यवाहक अध्यक्ष प्रवीण राईले भने, ‘कहिले गाडीमा काम गर्छु, कहिले त्यसै घुमफिर गर्छु, मेरो कोही छैनन् भन्थे ।’ फागुन २६ गते पानी लिन गएका दुवै गायब भएका हुन् ।

‘बेलुकीसम्म नफर्केपछि खोजी गरियो,’ कार्यबाहक अध्यक्ष राई भन्नुहुन्छ, ‘पानी लिन गएका दुवैजना नफर्केपछि प्रहरीलाई मौखिक जानकारी गराउने काम भयो । अहिलेसम्म भेटिएका छैनन् । हाम्रोतर्फबाट खोज्ने प्रयास भइरहेको छ, प्रहरी प्रशासनमा पनि लिखित जानकारी दिइसकेका छौं ।’ पुजन मकालु बोर्डिङमा कक्षा २ मा पढ्थे । प्रहरी नायब उपरीक्षक गौतमकुमार केसीले हराएका दुवै बालकको तस्बिर छिमेकी जिल्लासहित अन्य जिल्लामा पठाइसकिएको बताउनुभयो ।

सम्बन्धित समाचार