अपडेटः थुनिएको अरुण नदी खतरामुक्त




सङ्खुवासभा, बैशाख ८ गते । सङ्खुवासभाको भोटखोला गाउँपालिका हुँदै बग्ने बरुण र अरुण नदीको दोभानमा थुनिएको पानी विस्तारै बग्न थालेको छ । विहिबार साँझदेखि बरुण नदीमा बाढी आएपछि स्याक्सीला गोलामा थुनिएको नदी निकाश भएर बग्न थालेपछि खतरामुक्त बनेको हो ।

विहिबार साँझदेखि नै थुनिएको अरुण नदी लामो समयसम्म बग्न नसक्दा फुटेर ठुलो क्षति पुराउने त्रास फैलिएको थियो । तर शुक्रबार दिउसोबाट पानी बग्न थालेपनि खतरा मुक्त रहेको अनुगमनमा सहभागी भुगर्भविद्हरुले बताएका छन् । जमेको पानी सानो मात्रामा बगेपनि एक्कासी बाँध फुट्नसक्ने भएकोले अझै सतर्क रहनु पर्ने समेत भुगर्भविद्लाई उदृध गर्दै प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताउनुभायो ।

पानी थुनिएका कारण बरुण बजारका १० घरपरिवार बिस्थापित भएका छन् । उनीहरुलाई जिल्ला प्रशासन कार्यालय संखुवासभाले चिउरा, चाउचाउ, टेन्ट लगायतका राहत वितरण गरेको छ । घटनापछि शुक्रबार गृहमन्त्रालयका सहसचिव कृष्णबहादुर राउत नेतृत्वको टोलीले प्रभावित क्षेत्रको अनुगमन गरेको थियो । तर हिमताल फुटेर बाढी आएको भन्ने अनुमान पुष्टी हुन नसकेको टोलीमा सहभागी प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘हामी झण्डै नदीको मुहानसम्मै पुग्यौं । एकदम हावा चलेकाले धेरैमाथि त पुग्न सकिएन । तर, माथितिर पानी परिरहे पनि ताल फुटेको पुष्टी भएन ।’

नदी थुनिएपछि स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ, खानेपानी तथा सरसफाई राज्यमन्त्री दीपक खड्का प्रभावित क्षेत्रमा पुगेका थिए । बाढीमा परि घाईते हुनसक्ने भन्दै स्वास्थ्यकर्मीको टोली सहित मन्त्रीहरु घटनास्थल पुगेका थिए । घटनास्थल जिल्लाको सदरमुकाम खाँदबारीबाट ८० किलोमिटर टाढा पर्छ ।

सम्बन्धित समाचार