सङ्खुवासभामा भाँडाकुँडा चोर्ने र किन्ने दुवै पक्राउ



सङ्खुवासभा, जेठ ९ गते । जिल्लाको खाँदबारी ३ गुवाबारीबाट भाडाकुँडा चोरी गरि बेचेको आरोपमा २९ बर्षिय मनकुमार राईलाई प्रहरीले पक्राउ गरेको छ । राईसँगै चोरीको सामान किन्ने खाँदबारी १ का ब्यापारी ४७ बर्षीय मुनीनाथ श्रेष्ठलाई पनि पक्राउ गरेको छ ।

चिचिला गाउँपालिका–६ बाक्सीदा स्थायी घर भई परिवार सहित खाँदबारी नगरपालिका ३ गुवाबारी बस्दै आएका राईले खाँदबारी ३ र ७ का विभिन्न घरबाट विभिन्न समयमा तामा र पित्तलका भाँडाकँडा चोर्दै श्रेष्ठलाई बेच्दै आएको सुचनाको आधारमा पक्राउ गरि अनुसन्धान पछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

श्रेष्ठले खाँदबारीको टुँडीखेललाईनमा भाँडाबर्तन सम्बन्धी ब्यावसाय गर्दै आएका थिए । यसरी चोरी गरि ल्याएको सामान श्रेष्ठले पटक पटक खरिद गर्दै आएको प्रहरीको जानकारी छ । राईबाट श्रेष्ठले तामाको गाग्री १४, पित्तलको गाग्री १, तामाको भाँडा ६, पित्तलको भाँडा ४, तामाको बाता भाँडा ५, पित्तलको खड्कुला ७, तामाको खड्कुला १ वटा किनेको सङ्खुवासभा प्रहरी प्रमुख डिएस्पी गौतमकुमार केशीले जानकारी दिनुभयो ।

त्यस्तै, सिल्भरको भाँडा ३, सिल्भरको पैनी भाँडा २, सिल्भरको बाता भाँडा १, सिल्भरको भड्डु ४, काँसको थाल १, काँसको बटुका १, पित्तलको सानो भाँडा (तसला) १, सिल्भरको ढकनी १ गरि जम्मा ५७ थान भाँडा बर्तन राईले चोरी गरि श्रेष्ठलाई बेचेको डिएस्पी केशीले जानकारी दिनुभयो । राईले १७ थान टिन र जस्तापाता समेत चोरी गरि जम्मा दुई लाख पचास हजार बराबरको सामान चोरी गरेको डिएस्पी केशीको भनाई छ ।

चोरीका सम्पुर्ण सामानहरु बरामद् गरि अभियुक्त दुवैलाई चोरी मुद्धा शिर्षकमा थप अनुसन्धान भईरहेको प्रहरी कार्यालयले जानकारी दिएको छ ।

सम्बन्धित समाचार