निर्वाचनमा बालबालिका प्रयोग नगर्नेमा राजनितिक दलहरु प्रतिबद्ध



संखुवासभा । जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा राजनीतिक दलहरूले स्थानीय तह निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन् । जिल्ला बाल कल्याण समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शिवराज जोसीको अध्यक्षतामा महिला तथा बालबालिकाको कार्यक्रम हलमा आज सम्पन्न भएको कार्यक्रममा राजनितिक दलहरुले लिखित प्रतिबद्धता जनाएका हुन् ।

कार्यक्रममा नेकपा एमाले, संघीय समाजबादी फोरम, जनाधिकार फोरम नेपाल, राष्ट्रिय जनमोर्चा र नयाँ पार्टी शक्ति नेपाल सङ्खुवासभाले आसन्न निर्वाचनमा बालबालिका प्रयोग नगर्ने प्रतिबद्धता जनाएका हुन् । जिल्लामा क्रियाशील अन्य राजनीतिक दलहरूको पनि प्रतिबद्धता लिइने जिल्ला बाल कल्याण अधिकारी सुनिता सुवेदीले बताउनुभयो ।

जिल्लामा यसअघि भएका निर्वाचनहरुमा प्रमुख दलहरूले नै बढी बालबालिकाको प्रयोग गरेको पाईएकोले दलहरुलाई यस्तो प्रतिबद्धता जनाउन लगाईएको जिल्ला बाल क्लब समन्वय समितिका अध्यक्ष खेवाहाङ मेवाहाङले बताउनुभयो । राजनीतिक दलहरूले निर्वाचन प्रचारप्रसार तथा निर्वाचन जितिसेकेपछि हुने विजय ¥यालीमा बालबालिकाको प्रयोग गर्ने गरेको अध्यक्ष मेवाहाङले बताउनुभयो ।

निर्वाचन आयोगद्वारा जारी निर्वाचन आचारसंहिता २०७२ को बुँदा नं.(८)मा ‘निर्वाचन प्रचार प्रसार, आमसभा तथा जुलुुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने’ उल्लेख भएको छ । बालअधिकार संरक्षणका निम्ति नेपालको संविधान तथा संयुक्त राष्ट्रसंघको बालअधिकार सम्बन्धि महासन्धि १९८९, बालबालिका सम्बन्धि ऐन २०४८, तथा विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा तथा कार्यान्वयन निर्देशीका २०६८ लगायतका दस्तावेजहरुमा उल्लेखीत प्रावधानहरुको कार्यन्वयन गर्नु पर्नेमा दलहरु प्रतिबद्ध रहेको दलका प्रतिनिधीहरुले बताएका थिए ।

सम्बन्धित समाचार