वर्ष दिनमा ४४९ जनाले चढे सगरमाथा



काठमाडौँ, जेठ २९ गते । यस वर्षको वसन्त ऋतुमा ४४९ जनाले सगरमाथा आरोहण गरेका छन् । पर्यटन विभागका अनुसार कुल आरोहीमध्ये एक सय ९० जना विदेशी र २५९ जना नेपाली नागरिक रहेका छन् । गोरखापत्र दैनिकमा खबर छ ।

सगरमाथा आरोहणका लागि यस वर्ष विभिन्न ४२ वटा आरोहण दलबाट ३७५ जनाले विभागबाट अनुमति लिएका थिए । आरोहण सहयोगीका रूपमा काम गर्ने गाइड, भरिया, आइसफल डाक्टरसमेत आरोहीका रूपमा गणना हुने गर्छन् ।

यस वर्ष सगरमाथा आरोहण गर्ने आरोहीको सङ्ख्या गत वर्षको तुलनामा दुई जनाले मात्र कम छ । गत वर्ष समयमै आइसफल डाक्टरले बाटो पहिचान गरेको र मौसमले पनि साथ दिएकोले आरोहीको सङ्ख्या बढी भएको नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष आङ्छिरिङ् शेर्पाले बताउनुभयो । पहिलेभन्दा यो वर्ष मौसम निकै बिग्रियो पनि, उहाँले भन्नुभयो, मौसम राम्रो हुन्छ भनेकै दिन नराम्रो हुँदा सगरमाथा चढ्न समस्या पनि भयो ।

पर्यटन विभागका अनुसार देशभरका हिमाल आरोहणका लागि यस वर्षको वसन्त ऋतुमा आठ सय ४० जनाले अनुमति लिएका थिए । त्यसमध्ये अन्नपूर्ण हिमालमा नौ जनाले आरोहण गरेका छन् । ल्होत्से हिमालमा ५९ जना विदेशी र ३६ जना नेपाली गरी ९५ जनाले आरोहण गरेको विभागको तथ्याङ्क छ । मकालुमा १२ जना विदेशी र १४ जना नेपाली गरी २६ जनाले आरोहण गरेका छन् ।

धौलागिरी हिमाल आरोहण गर्ने ५९ जना आरोहीमध्ये ३२ जना विदेशी छन् भने २७ जना नेपाली आरोही रहेको विभागले जानकारी दिएको छ । मनास्लुका लागि अनुमति लिएको एउटा आरोहण दल र कञ्चनजङ्घाका लागि अनुमति लिएका तीन जनाले आरोहण नै नगरेको पनि विभागले जनाएको छ । त्यस्तै यो सिजनमा चोयु हिमालमा पनि आरोहण भएन ।

सम्बन्धित समाचार